जून तारा नै झार्छु भन्थ्यौ झार वेला छँदै,
उल्टो सुल्टो कस्तो पार्ने ? पार वेला छँदै ।
नयाँ घरका कुराहरू भए धेरैधेरै,
घडेरीचाहिँ राम्ररी खार वेला छँदै ।
हरेक दिन एउटै लक्षण लिई आउँदैन,
अनिष्ट नि हुनसक्छ टार वेला छँदै ।
गर्न खोजे सम्भव हुन्छ खोज्नचाहिँ पर्छ,
बार बारे तिल जोगिन्छ रे बार वेला छँदै ।
लौ न छिटो उठिहाल भेल आउनै आँट्यो,
आफू तर अरूलाई तार वेला छँदै ।