मनभरि छन् गाँठैगाँठा, सक्छ्यौ त फुन आऊ;
च्यातिएको उध्रिएको, ठाउँमा तुन आऊ !
मेरी भन्दाभन्दै तिमी, अर्काकी भइहाल्यौ;
सधैँ भन्नुभएन, एकैछिन धुन आऊ !
हँसाउँछु भन्दै आखिर, रुवाउँदा झन् दुखेँ;
जिन्दगीभर रुवाएर, एकै छिन रुन आऊ !
सुन्दरस्वरुप भित्रको त्यो, कालोमैलो को देख्छ?
माया गरेझैँ गरेर, यो मुर्दा छुन आऊ !
यौवनभरि मात्र हैन, साथ खोजेथेँ जुनीभर;
जीवनसाथी भइनौ भो', मलामी हुन आऊ !