मुटु हुँदै रगत बग्छ, रगत जमाई रेट्यौ ।
गरी खाने बबुराको, चोखो कमाई रेट्यौ ।।
धर्मको के कुरा गर्नु, तिमी जस्ता पापीले ।
गरिबलाई नाना-चाचा, पापा थमाई रेट्यौ ।।
अचम्मको बानी तिम्रो, तातो रगत पिउने ।
जति रोयो मानवसिकार, झनै रमाई रेट्यौ ।।
हिसाब छैन रेटिनेको, तिम्रा खुनी हातबाट ।
'जदौ' गरेन भेट हुँदा, भुन्टे दमाई रेट्यौ ।।
ठाँडो भयो भाँडो पनि, जब पूरा भयो काम ।
टाउकामाथि बोक्नेको, टुप्पी समाई रेट्यौ ।।