शीशा जस्तै चर्केको, यो जीवन कथा,
घाउमा नून छर्केको, यो जीवन कथा ।।
न सुन्छ कसैलै, न छ कसैलाई चासो,
एकान्तमा मन, धर्केको यो जीवन कथा ।।
सधैं तछाड र मछाडमा व्यस्त तैपनि,
सुनौलो घडी घर्केको, यो जीवन कथा ।।
छटपटी, अभाव र पीडाका यी आँसु,
बर्षे झरी झैं, दर्केको यो जीवन कथा ।।
पसिना र रगतको झोल संगै दुई गाँस,
निल्न खोज्दा, सर्केको यो जीवन कथा ।।
खियाउँ नंग्रा अनि घोटौं पाखुरा भन्दा,
नचल्ने गरी, मर्केको यो जीवन कथा ।।
भय र त्रासले, थर्केको यो जीवन कथा ।।
ऋणको बोझ र ग्लानीले निर्दोष घर,
परिवारसंग, झर्केको यो जीवन कथा ।।
मुंग्लान पस्दा, कमाउँ भनी दीनले,
खालीहात घर, फर्केको यो जीवन कथा ।।
जीवन अस्तित्व, पहिचान र लडाइमा,
अन्तरात्मासंग, जर्केको यो जीवन कथा ।।
आफ्नै छायाँसंग, लाचार भै लुकीलुकी,
भागी हिड्न, तर्केको यो जीवन कथा ।।
शीशा जस्तै चर्केको, यो जीवन कथा,
घाउमा नून छर्केको, यो जीवन कथा ।।