शिसा जस्तै, तकदिर यो, फुटी झर्दा दुख्छु अचेल
खुशीहरु, मुख मोडी, कोल्टे पर्दा दुख्छु अचेल !!
गगन त्यो, छुन भनि, दौडिएँ म, कति कति
लक्ष्य मेरो, झनै माथी, माथी सर्दा दुख्छु अचेल !!
समय उस्तो, हो की मेरो, कर्म खोटो बुझिन खै
सधै भरि, मेरै भागमा, दुख भर्दा दुख्छु अचेल !!
मनोरथ, छाती भरि, कति थिए कति मेरा
नउम्री ति, गर्भमा नै, तुहि मर्दा दुख्छु अचेल !!
आफन्त र, गाउँ छोडी, उनकै पछी लागी आएँ
उसैले नै, कपटी यो, कुरा गर्दा दुख्छु अचेल !!