शिखर चुम्न नपाए नि, झर्न त देउ प्रिये,
अमृत हैन विषले प्याला, भर्न त देउ प्रिये !
घच्चाको के कुरा भो र, छुँदा पनि छुन्न,
अलिकति मात्रै पर, सर्न त देउ प्रिये !
राज्य तिम्रो भएपछि, तिम्रै राजधानी,
वारि बस्न नपा' पारि, तर्न त देउ प्रिय !
मुटुमा तिर हान्नेसित, मायाको के कुरा?
आफ्नै घाउमा नुन र चुक, छर्न त देउ प्रिये !
यत्ति रै'छ भनेर म, चित्त बुझाउँला,
बाँच्न ल भो पाइएन, मर्न त देउ प्रिये !