थाहा पाइस् होला अब, एक हैन, दुई रै'छ,
बिसाएर हेर् त आफैँ, खै को तेरो बुइ रै'छ?
'धेरै पछि भए पनि जन्मँदै छ छोरो'-भन्थिस्,
नजन्मिंदै तेरो छोरो, गर्भभित्रै तुहि रै'छ!
जतन गरी टोपलेर राखिस् विश्वास जुन भाँडामा,
नमज्जाले तेरो विश्वास त्यही भाँडामा कुहि रै'छ!
आफ्नै छातीमाथि ठूलो मारकाट देखिन् यी आमाले,
त्यही सम्झी आँखाबाट अझै आँसु चुहि रै'छ!
'जति पीडा सहेर नि नयाँ नेपाल बन्यो'-भन्थिस्,
कुरै मात्र नयाँ ठुले, गर्ने आखिर उही रै'छ!