तिम्रो घरको भातभान्छा गरुँ गरुँ लाग्यो कान्छा
छोडी अब डेरा उतै सरुँ सरुँ लाग्यो कान्छा
रङ्ग भर्छौ जुल्फी पाल्छौ, ढडिया नि थाप्दै हिड्छौ
जानी जानी त्यसैभित्र परुँ परुँ लाग्यो कान्छा
च्याट्ट रुमाल् भिर्छौ अनि टोपी पनि ढल्काउँछौ
हिरो देख्छौ र पो माया छरुँ छरुँ लाग्यो कान्छा
देख्दा तिम्रो रित्तोपना, उस्तै खाली जवानी त्यो
मदहोसीका प्यालाहरु भरुँ भरुँ लाग्यो कान्छा
लोभ लाग्दो रुप तिम्रो कस्सिएको ज्यान पनि
किन किन तिम्रै लागि मरुँ मरुँ लाग्यो कान्छा