उँभोतिर देख्दा उँधो झर्यौ र मन दुख्यो,
वारितिर देख्दा पारि तर्यौ र मन दुख्यो ।
'तिम्रै निम्ति बाँच्छु-मर्छु' भनी कसम खाई,
आज पर झनझन् पर सर्यौ र मन दुख्यो ।
छेपारोझैँ रङ्ग फेर्ने गजब रै'छ बानी,
नचिनेको मान्छेजस्तै गर्यौ र मन दुख्यो ।
आफ्ना निम्ति हाँसीहाँसी मर्ने मान्छेलाई,
जानीबुझिकन दागा धर्यौ र मन दुख्यो ।
तिमीले नै मुटु खोस्दा लागेको यो घाउ,
उसैमाथि नुन र चुक छर्यौ र मन दुख्यो ।