उकाली-ओरालीहरुमा, भन्ज्याङ अनि चौतारीहरुमा
सुन्दर ती दहहरुमा, हिमालका विशाल छातीहरुमा
जहाँ-जहाँ जान्छौ तिमी म पाइला बनी पछ्याइरहन्छु
ती छहरा खोला-खहरेहरुमा सम्झना बनी बगिरहन्छु
तराईइका हरिया फाँटमा, पहाडका तरेलीहरुमा
हिमालका सुन्दर अनि विकट ती बस्ती-बस्तीहरुमा
जहाँ-जहाँ जान्छौ तिमी म बाटो बनी साथै आइरहन्छु
ती सुस्केरा थकाइ सुसेलीहरुमा गीत बनी गुन्जिरहन्छु
मुटु कमाउने जाडोहरुमा, कपाल दुख्ने गर्मीहरुमा
मन हर्ने सुन्दर दृश्य शान्त शीतल वातावरणमा
जहाँ-जहाँ जान्छौ तिमी म आकाश बनी देखिरहन्छु
ती लेक, बेँसी अनि पाखाहरुमा पवन बनी भेटिरहन्छु