पारिजात नै त्यस्ती स्रष्टा हुन् जो नेपाली भाषासाहित्यकी एउटा सार्वजनिक चौताराकी पर्यायवाची बनिन् । जजसले पारिजातलाई हाम्री मात्र पेवा भने पनि र पारिजात स्वयम्ले पनि आफूलाई कुनै खेमाभित्र सीमित पार्न चाहे पनि अन्ततः उनी सम्पूर्ण नेपालीकी पेवा बनिन् । अनि उनी नेपाली भाषासाहित्यकी एक प्रतिनिधि अस्तित्व नै बनिन् ।
पारिजातको जन्म १९९४ सालमा भएको थियो । यिनको स्कुलको नाउँचाहिँ विष्णुकुमारी वाइबा थियो । साथै यिनको चिनाको नाउँ भने छेकुडोल्मा थियो । विष्णुकुमारी वाइबाले पारिजातको फूल नदेख्तै आफैं आफ्नो नाउँ पारिजात राखेकी थिइन् । पारिजातको फूलको बोट भने यिनले काठमाडौं आएपछि मात्र देखेकी थिइन् । पारिजातको नाउँ राम्रो लागेर र पारिजातको फूल झरेपछि भुइँबाट मात्र टिपिन्छ भन्ने थाहा पाएर यिनले आफूलाई पारिजातमा नै रङ्गाएकी थिइन् ।
पारिजातका बुबा केएस लामा भारतीय सैनिक सेवामा आबद्ध थिए र आमा अमृता लामाले चाहिँ घरगृहस्थीलाई आफ्नो थाप्लामा बोकेकी थिइन् । पछि सैनिक सेवा छाडेर के. एस. लामा होमियो चिकित्सामा लागे । सैनिक सेवा छाडेपछि अथवा भनूँ औषधी बेच्ने काममा लाग्दा लामापरिवारको घरको छानो आर्थिक रूपले पातलो भएको थियो ।