अम्बालिकादेवी सानैदेखि तीक्ष्ण थिइन् । उनी मिलनसार पनि थिइन् । उनी अर्काको सेवामा पनि जुट्थिन् । यी सबैभन्दा महत्वपूर्ण कुरा उनी ज्यादै सुन्दरी थिइन् । उनी तनकी मात्र सुन्दरी थिइनन्, मनकी पनि सुन्दरी थिइन् । वास्तवमा उनी जति राम्री थिइन् त्यति नै राम्रो विचारकी कुबेर थिइन् । यी सबै बेहोरा जोडिएर उनी चर्चित भइन्, प्रसिद्ध भइन् र अन्ततः अमर पनि भइन् । एउटै उपन्यास ‘राजपूत रमणी’ लेखेर नेपाली भाषासाहित्यमा सबैभन्दा अगाडि उभिने उपन्यासकार नै अम्बालिकादेवी भइन् ।
अम्बालिकाको जन्म संवत् १९५१ साल जेठ ८ गते काठमाडौंको मखनटोलमा भएको थियो । उनी एककृष्ण नेपाल तथा रत्नकुमारीका सात छोरीमध्ये माइली छोरी थिइन् । एककृष्ण नेपाल राणाकालीन सुब्बा थिए । त्यति बेला नेपालपरिवारको सामाजिक मानमर्यादा पनि ठूलै थियो । त्यतिमात्र होइन, नेपालकी सासू अर्थात् रत्नकुमारीकी आमा देवकुमारी कोइराला श्री ५ पृथ्वीवीरविक्रम शाहकी धाईआमा थिइन् । त्यति बेला कोइराल्नी बज्यै भन्नु पनि स्वयम्मा प्रख्यात नाउँ थियो । त्यसैले अम्बालिकाको माइती नेपाली परिवेशमा एउटा सम्पन्न परिवार थियो ।
अम्बालिकादेवीको बाल्यकालको नाउँ पुतली थियो किनभने सानामा उनी बिछट्टै राम्री थिइन् । ती राम्री बालिकाको बिहे सात वर्षको उमेरमा भएको थियो । अर्थात् भारतको विहार रामनगरका अम्बिकाप्रसाद उपाध्याय (पौडेल) सँग यिनको लगनगाँठो कसिएको थियो । त्यसपछि यिनको नाउँ त्यसताकाको प्रचलनअनुरूप आफ्ना पतिको नाउँमा मिलाएर ‘अम्बालिका’ राखियो ।
अम्बालिकादेवीका पति पण्डित अम्बिकाप्रसाद उपाध्यायले एम. ए.,बी.एल. पढे । उनी विहार र उडिसाको हाईकोर्टका वकिल थिए । त्यहाँका वकिलहरूमध्ये उनी निक्कै नामी वकिल थिए । भारतमा वकालत गर्ने नेपाली मूलका प्रथम वकिल उनी नै थिए । भारतमा नेपालीको कीर्ति राखेका कारण श्री ३ महाराज चन्द्रशमशेरद्वारा अम्बिकाप्रसादलाई बधाईपत्रसमेत प्राप्त भएको थियो । अम्बिकाप्रसाद उपाध्यायले नै ‘नेपालको इतिहास’ पनि लेखे । ‘नेपालको इतिहास’ लेख्ने प्रथम नेपाली इतिहासकार पनि उपाध्याय नै हुन् । यिनको ‘नेपालको इतिहास’ पहिलो संस्करण संवत् १९७९ मा प्रकाशित भएको थियो । त्यति बेला उपाध्यायको बौद्धिकता अत्यन्तै परिमार्जित थियो । उनी नेपालबाट भारततर्पm लागे तापनि उनको छाती, उनको शिर र उनको बोली नेपाली नै थियो । उनी चरित्रवान्, नैतिकशील र पत्नीभक्त थिए । उनी आपूmभन्दा ठूलाका आज्ञाकारी थिए र सानालाई अपार माया गर्थे । उनकै मायाको छाता ओढेर अम्बालिका पनि फक्रेकी थिइन् । साँच्चै भन्ने हो भने बिहे भएपछि नै अम्बालिकाको अर्को सुखद संसार परिचालित भएको थियो । अम्बालिकाको विश्व नै उनका पति थिए; किनभने अम्बिकाप्रसाद उपाध्यायले पनि आफ्नो ब्रह्माण्ड नै आफ्नी पत्नीमा केन्द्रित गरेका थिए । त्यस बेला त्यो जोडी एउटा अनुपम मानिन्थ्यो ।
अम्बालिकादेवीले घरैमा पढिन् । उनलाई सानैदेखि अङ्ग्रेजीको ज्ञान पनि प्रदान गरिएको थियो । पटनामा यिनीहरूको हैसियत पनि ठूलै थियो । त्यसैले यिनलाई विभिन्न विषय पढाउन शिक्षकशिक्षिका यिनका घरैमा आउँथे । त्यस बेला यिनलाई अङ्ग्रेजी पढाउन मिस रोज पनि आउँथिन् । मिस रोज साइकलको घन्टी बजाउँदै अम्बालिका मन्दिरमा पसिनसक्तै अम्बालिकादेवी श्रृङ्गारका साथ सुसज्जित भएर बैठककोठामा बसिसकेकी हुन्थिन् । अम्बालिकादेवीकी कान्छी बहिनी भुवनेश्वरी ढुङ्गेलका अनुसार “अम्बालिका हरेक विषयमा पारङ्गत थिइन्, पढाइलेखाइमा पनि उनको विशेष रुचि थियो । उनी कुँदेर राम्रा अक्षर लेख्ने गर्थिन् । उनका अक्षर मोतीका दानाझैँ छरिता हुन्थे । उनलाई खाना पकाउनेदेखि पाहुनालाई सत्कार गर्नेसम्मको सोख थियो । उनी जसरी नेपाली बोल्थिन्, त्यसरी नै हिन्दी पनि फरर बोल्न सक्थिन् । साथै उनी अङ्ग्रेजसँग अङ्ग्रेजीमा पनि कुरा गर्न सक्थिन् ।”
शरीरको ढाँचाको कुरा गर्ने हो भने अम्बालिकाको अनुहार नै धपक्कै बलेको देखिन्थ्यो । लामो कपाल, ठूला आँखा, सुलुक्क परेको नाक, सुन्तले ओठ र स्याउझैँ गाला अम्बालिकाको मुहारको बनोट थियो । उनी खाइलाग्दी र हृष्टपुष्ट देखिन्थिन् । उनी हरेक दिन राजसी ठाँटमा सिँगारिन्थिन् । सिँगारपटारमा पनि उनको विशेष सोख थियो । बाहिरका कुनै मान्छे घरमा आउँदा उनी सिँगारिएर मात्र खोपीबाट निक्लिन्थिन् । शरीरमा गरगहना र पहिरनमा पनि उनको विशेष अभिरुचि थियो । उनको टाउको, घाँटी, नाक, कान, पाखुरा र खुट्टा जतासुकै सुन, चाँदी, हीरा र मोतीका गहनाले नै ढाकिएको हुन्थ्यो । घरबाहिर निस्कँदा उनी सिँगारिएर झनै झकिझकाउ भएर हिँड्थिन् । त्यस बेला उनको शरीर नै झिलीमिली देखिन्थ्यो ।
अम्बालिकादेवीका परिवारको स्थायी बसोबास भारतको पटनामा थियो । तर यिनीहरू हरेक वर्ष कोलकाता पनि जाने गर्थे । डुल्न जाँदा पनि यिनीहरू राजसी पारामा नै हिँड्थे । यिनीहरूले यात्रा गर्दा रेलस्टेसनमा पं. अम्बिकाप्रसादकै नाउँ लेखिएको रेलको डिब्बा अर्थात् बग्गी आउँथ्यो । एकपटक यिनीहरूको ठाँट देखेर श्री ३ चन्द्रशमशेरकी रानी बालकुमारीले भनेकी थिइन् “बाहुनहरूको पनि यस्तो पूmर्ति हुँदो रहेछ ।” वास्तवमा अम्बालिकादेवीका परिवारको हैसियत विशिष्टताको नमुना नै थियो । उनीहरू धनी भएर पनि दिलदार थिए । उनीहरू पैसा कहाँ खर्च गर्नुपर्छ भन्ने हिसाबमा पनि पारङ्गत थिए । त्यसैले उनीहरू गर्मी याममा कहिले दार्जिलिङ, कहिले सिमला, कहिले मुसुरी र कहिले नैनीताल पुग्थे । भ्रमण गर्नु पनि अम्बालिकादेवीको विशेष रुचिको विषय थियो ।
अम्बालिकादेवी खानपिनकी पनि सौखिन थिइन् । धनीहरूले खाने हरेक खान्कीलाई उनी कलात्मक रूपमा प्रयोग गर्थिन् । मदिरासेवनमा चाहिँ उनको मन पुगेन । चुरोट खानमा चाहिँ उनी सौखिन नै थिइन् । उनी हात्तीको दाँतबाट बनाइएको पाइपबाट चुरोट तान्थिन् । उनको चुरोट खाने कुल्पीको माथिल्लो भाग पनि सुनले मोरेको हुन्थ्यो । त्यस बेला उनले खाने चुरोट पनि बेलाइती हुन्थ्यो ।
अम्बालिकादेवी सामान्य रूपका लुगाफाटा लाउँदिनथिन् । उनका लुगाफाटा विशेष गरी बम्बईबाट नै बनिबनाउ भएर आउँथे । उनको चोलीको नमुना पनि बेग्लै हुन्थ्यो र सारीको फेर पनि बेग्लै पारी गाँसेर बनाइएको हुन्थ्यो । उनी एकपटक लगाएका लुगा एक वर्ष अघि दोहोर्याएर लाउँदिनथिन् । उनका लुगाफाटा र जुत्ताचप्पल राख्ने बेग्लाबेग्लै कोठा हुन्थे । यिनका घरमा लुगाफाटाका बेग्लै, जुत्ताचप्पलका बेग्लै र गरगहनाका बेग्लै नोकर हुन्थे । यिनका भान्सामा पनि बेग्लाबेग्लै पाकका प्रखर मान्छे हुन्थे । यिनका घरमा हरेक विषयका बेग्लाबेग्लै कारिन्दा हुन्थे ।
भित्र कोठामा पङ्खाका लागि डोलो काठमा कपडा बेरेर त्यसमा ठूलो झल्लर झुन्ड्याइएको हुन्थ्यो । त्यस काठका दुईपट्टि मोटो डोरी बाँधिएको हुन्थ्यो । त्यसलाई कोठाको माझमा झुन्ड्याएर ती डोरीहरू चाहिँ प्वालबाट छिराएर बाहिर लगिएको हुन्थ्यो । त्यति बेलाको प्रचलनअनुसार यी भित्र कोठामा सुत्ता बाहिरबाट नोकरले पङ्खा तान्थे । यिनका घरका सबै नोकरचाकर र ड्राइभरदेखि रिक्सावालासम्मको एकनासको लुगा (युनिफर्म) हुन्थे । घरमा भएका सबै मान्छे अत्यन्तै अनुशासित हुन्थे । त्यतिखेर यिनका घरमा नोकरमात्रै दस जना थिए ।
अम्बालिकादेवी आफै पनि ऐना हेरेर अघाउँदिनथिन् । आफ्नो अनुहार र शरीरप्रति यिनलाई ठूलो गर्व थियो । यी प्रायः महिना दिनमा एउटा फोटो खिच्ने गर्थिन् । त्यतिखेर भारतमा रङ्गीन फोटो खिच्ने चलन नभएकाले यिनी आफ्नो फोटो धुन फ्रान्स पठाउँथिन् । यिनको अर्को सोख बेलायती कुकुर पाल्ने पनि थियो । यी कुकुरलाई पनि मान्छेलाई जत्तिकै माया गर्थिन् ।
अम्बालिकादेवीको बोलाइमा मीठोपना थियो । उनको स्वर पनि त्यस्तै सुरिलो थियो । उनी घरमा बसेका बेला प्रायः गीत गाउँथिन् । उनी हिन्दी गीत पनि गाउँथिन् र कहिलेकाहीँ नेपाली गीत पनि गाउँथिन् । सालको झन्नै एकपटकचाहिँ यिनले गीत गाउने बेलामा त्यस ठाउँमा बाजागाजा पनि जुट्ने गर्थे । उनी गीतसङ्गीत भनेपछि मरिमेट्थिन् । त्यतिमात्र होइन; उनी नेपाली संस्कृतिका हरेक परम्परालाई आफ्ना घरमा लागू गर्थिन् ।
अम्बालिकादेवीलाई आफ्नो शरीर सजाउने जतिको रहर थियो घर सजाउन पनि उनी त्यत्तिकै दत्तचित्त हुन्थिन् । उनी अङ्ग्रेजी किताब हेरीहेरी बेलायती ढाँचामा आफ्नो घर सजाउने गर्थिन् । यिनको घर विविध सुन्दर सजावटका सामग्रीले भरिएको हुन्थ्यो । घरबाहिरको पूmलबारी र घरभित्रको थप साजसज्जाले यिनको घर पटनाका घरहरूमध्ये राम्रो घरमा गणना हुन्थ्यो ।
अम्बालिकादेवी कथा र उपन्यास पढ्न पनि पारङ्गत थिइन् । कम्तीमा पनि यी साप्ताहिक रूपमा प्रायः दुईटासम्म हिन्दी उपन्यास वा कथासङ्ग्रह पढ्ने गर्थिन् । उनी इतिहास पढ्न पनि मन पराउँथिन् । पुस्तक पढ्ने क्रममा अम्बालिका पुराना पुस्तक पढ्दिनथिन् । उनी पुस्तक पसलबाट नयाँनयाँ किताब किनेर ल्याई पढ्ने गर्थिन् । उनकी काहिंली बहिनी सुशीलाकी छोरी बुलु शर्माका अनुसार त्यही क्रमले यिनको उपन्यास र कथाका पुस्तकहरू राख्ने अर्को कोठा बनाइएको थियो । कोठाका दराजमा यिनले प्रायः पढी सिध्याएका उपन्यास र कथासङ्ग्रहमात्रै दुई हजार पुगेका थिए । कथा र उपन्यास पढ्दापढ्दै र सिनेमा हेर्दाहेर्दै यिनलाई पनि लेख्न मन लाग्न थाल्यो । त्यसैले यिनले कविता, गीत र कथा पनि लेख्न थालिन् । तिनैताका यिनको शरीर अस्वस्थताको चरमचुलीमा पनि पुगेको थियो । आफू अस्वस्थ भए पनि यिनले उपन्यास लेखिन् ‘राजपूत रमणी’ । त्यस उपन्यासको आवरणपछिको भित्री पृष्ठमा यिनले आफ्नो फोटो राखिन् । वास्तवमा आफ्नो विचार र आफ्नो अनुहार जनसमक्ष पुर्याउने यिनको इच्छा थियो । त्यसैले यिनले सन् १९३२ मई १ तारिक (संवत् १९८९ वैशाख १९) मा भूमिका लेखेर ११५ पृष्ठमा आबद्ध ‘राजपूत रमणी’ (ऐतिहासिक उपन्यास) नेपाली साहित्यको मन्दिरमा चढाइन् । अम्बालिकाले यस उपन्यासलाई एक शिक्षाप्रद ऐतिहासिक कथा भनेकी छन् । बनारसको जनरल ट्रेडिङ कम्पनीबाट सन् १९३२ सितम्बरमा यो उपन्यास पं. ईश्वरीप्रसाद उपाध्यायले प्रकाशित गराए । नेपाली साहित्यमा नारीहरूको औपन्यासिक परम्पराका प्रसङ्गमा भन्ने हो भने अम्बालिका नै प्रथम नेपाली उपन्यासलेखिकामा अभिलिखित भइन् । उनको ‘राजपूत रमणी’का बारे राजेन्द्र सुवेदी लेख्छन् “ ‘राजपूत रमणी’ नेपाली उपन्यासपरम्पराको आधुनिक कालको निम्ति सबभन्दा पुरानो र माध्यमिक कालको निमित्त सबभन्दा नयाँ लाग्ने सङ्क्रमणकालीन उपन्यासकृति हो ।”
परापूर्वकालदेखि नारीजातिको सबैभन्दा ठूलो धर्मका रूपमा मानिएको पतिव्रत अर्थात् सतीत्वलाई मूल रूपमा ‘राजपूत रमणी’ मा प्रस्तुत गरिएको छ । एकातिर सुन्दरताका कारण नारीप्रतिको पुरुष आकर्षणको प्रसङ्गबाट उपन्यासको कथावस्तुको उठान गरिएको छ भने अर्कातिर स्त्रीको पतिप्रतिको समर्पणको बलियो उदाहरणका रूपमा उपन्यासको बैठान भएको छ । ‘राजपूत रमणी’मा स्त्रीहरू जति सुन्दर हुन्छन्, त्यत्तिकै कोमल हुन्छन् र कोमलमात्र नभएर उनीहरूमा कठोरताको पराकाष्ठा पनि हुन्छ भन्ने विचारलाई कलात्मक रूपमा व्यक्त गरिएको छ । त्यसैले लक्ष्मी, सरस्वती र महाकालीको सङ्गम नै नारी जाति हुन् भन्ने निष्कर्षलाई यहाँ औपन्यासिक जलपमा प्रस्तुत गरिएको छ ।
वर्तमान नेपाली भाषाको विकसित शब्दशैलीमा अभ्यस्त पाठकका लागि ‘राजपूत रमणी’ को भाषाशैली केही बिझाउने खालको पनि हुन सक्ला । तर तत्कालीन समयमा एउटी महिलाले ‘राजपूत रमणी’को सिर्जना गर्नु भनेको आफैमा महत्वपूर्ण र उल्लेखनीय उपलब्धि मान्नुपर्छ । गद्य र पद्य दुवै शैलीमा लेखिएको हुनाले ‘राजपूत रमणी’ काव्यिक रसप्रवाहमा पनि सफल देखिन्छ । नारीजातिका लागि पतिभक्ति ठूलो धर्म हो र नारीको त्यस धर्मका बीचमा बाधा पार्न आउने जसकसैलाई पनि उनीहरूको सतीत्वको तेजले भस्म खरानी पार्न सक्छ भन्ने सन्देश दिन ‘राजपूत रमणी’ सफल भएको छ । नारी अबला मात्र होइन ऊ सर्वशक्तिमान् पनि छे भन्ने कुरालाई प्रस्तुत गरेर अम्बालिकादेवीले हिजोआजको महिला सशक्तीकरणको अवधारणालाई त्यसबखत नै उद्घोष गरेकी थिइन् ।
‘राजपूत रमणी’ उपन्यासलेखनका प्रमुख प्रेरक व्यक्ति हुन् अम्बालिकादेवीका देवर ईश्वरीप्रसाद उपाध्याय । त्यसैले उपन्यासकारले लेखेकी छिन् “... परमकल्याणभाजन, स्वदेश र विद्याप्रेमी मेरा देवर पण्डित ईश्वरीप्रसाद उपाध्यायको अनिवार्य आग्रह तथा प्रोत्साहनले माताको काखमा बसेको बालकले आकाशका चन्द्रलाई समात्ने चेष्टा गरेझैँ आज मजस्ती एक अबोध अबलाले यो पुस्तक लेख्ने चेष्टा गरेकी हुँ... । अन्तमा उपरोक्त परमोत्साही, मातृभाषाप्रेमी मेरा देवर पण्डित ईश्वरीप्रसाद उपाध्यायज्यूलाई जसका सुसल्लाह, अनुरोध तथा उत्साहले यो पुस्तक लेखियाको हो एवं जसले यस ग्रन्थको प्रकाशनको सारा भार ग्रहण गरी यो सामान्य पुस्तिका सर्वसाधारणका समक्ष उपस्थित गराउनुभयो कृतज्ञतापूर्वक सहर्ष हार्दिक धन्यवाद चढाउँदै यस भूमिकालाई यीँ समाप्त गर्दछु ।”
एउटी सुन्दर भावनाकी धनी, सुन्दर तनकी धनी र आर्थिक हिसाबले पनि त्यत्तिकै धनी अम्बालिकादेवी शारीरिक रूपमा क्रमशः अशक्त हुँदै गइन् । वास्तवमा किशोरावस्थाको साँध काटेपछि उनी क्रमशः शारीरिक पीडाले व्यथित हुन थालिन् । बीसवर्ष काटेपछि उनी बिस्तारै कुँजी हुन थालिन् । उनका भान्जा मदनमणि दीक्षितका अनुसार उनका दुवै खुट्टा क्रमशः नचल्ने भए । उनको कम्मरभन्दा मुनिको भाग नै अशक्त हुँदै गयो । राम्री भएर पनि उनी नराम्रो रोगको शिकार भइन् र धनी भएर पनि उनी रोगबाट मुक्त हुन सकिनन् । तर उनी जतिसुकै कुँजी भए तापनि उनका पति भने उनकै वरिपरि घुम्थे, उनकै मनमा थकाइ मार्थे र उनकै मस्तिष्कमा अटल रहन्थे । वास्तवमा अम्बिकाप्रसादमा अथाह पत्नीप्रेम थियो ।
अम्बालिकादेवी र अम्बिकाप्रसाद भएर एउटा निर्णय गरे; अर्थात् उनीहरूले धर्मपुत्र ग्रहण गर्ने भए । त्यसैअनुरूप आफ्नै माइला भाइ शारदाप्रसाद उपाध्यायका छोरा राजेश्वरप्रसाद उपाध्यायलाई यिनीहरूले धर्मपुत्र राखे । त्यति बेला एउटा विशिष्ट धार्मिक कृत्य गरेर नै उनीहरूले राजेश्वरलाई छोरा बनाएका थिए । ख्यातिप्राप्त व्यक्तिद्वारा धर्मपुत्र लिइएको त्यो घटना त्यस समय पटनामा निक्कै चर्चामा आएको थियो । त्यसैले बनारसको ‘आज’ नामक हिन्दीसमाचार पत्रिकाले समेत त्यस बेहोराको खबरलाई मुख्य प्राथमिकता दिएर प्रकाशन गरेको थियो ।
अम्बालिकादेवी आफ्ना खुट्टा नचले तापनि आपूm कुर्सीमा बसेर टेबुलमा खाना पकाउँथिन् । घरमा जतिसुकै नोकरचाकर भए तापनि उनी आफैले पकाएको परिकार आफ्ना पतिलाई खुवाउँथिन् । खाना पकाउने आफ्नो विशेष रुचिका कारण उनी अशक्त अवस्थामा पनि मीठामीठा परिकार पकाउँथिन् ।
अम्बालिकादेवी किनमेल गर्न आफै बजार जान्थिन् । नोकरचाकरलाई पनि बजार गएको बेला थप खर्चबर्च दिन्थिन् । पछि आफू अपाङ्ग भएपछि ह्वील चियरमा भए पनि उनको बजार जाने क्रम रोकिएन । घरघरायसी काममा जेजति खर्च हुन्थ्यो त्यो सबै उनी डायरीमा मितिसहित टिप्ने गर्थिन् । वास्तवमा उनी सानैदेखि दैनिक खर्चको हिसाब लेख्थिन् र यो रीत उनले जीवनभर पालन पनि गरिन् । कतिसम्म भने आपूm दिवङ्गत हुने अघिल्लो दिनको डायरीमा पनि उनको खर्चको दैनिकी लेखिएको थियो । त्यसै डायरीको अर्को पानामा भोलिको खर्च लेख्नका लागि मितिसमेत लेखिएको थियो । तर उनको जीवनमा त्यो भोलि आउँदै आएन ।
अम्बालिकादेवी सिनेमा हेर्न पनि एउटा सानो बथान लिएर जाने गर्थिन् । प्रायः साप्ताहिक रूपमा फिल्म हेर्ने उनको तालिका हुन्थ्यो । मोटरबाट ओर्लेपछि ह्वीलचेयरमा पर्दा लगाएर उनलाई सिनेमा हलभित्र प्रवेश गराइन्थ्यो । सिनेमा हलमा पनि उनका लागि बेग्लै विशिष्ट कक्ष हुन्थ्यो । उनले सिनेमा हेर्ने भनेपछि त्यो कक्ष पनि विशेष रूपले सजाएर राखिएको हुन्थ्यो ।
अम्बालिकादेवीको पूजाआजामा पनि विशेष रुचि थियो । जुनसुकै देवीदेवताका मन्दिर जानुभन्दा अघि यी नुहाएर, चोखा कपडा लगाएर प्रवेश गर्थिन् । उनी जुन काम गर्नु छ त्यसमा सफल हुन्थिन् । साथै मान्छेले जे गर्नु छ त्यो काम मन, वचन र कर्मले गर्नुपर्छ भन्ने धारणा उनी राख्थिन् ।
अम्बालिकादेवीको रोग निदान गर्न अम्बिकाप्रसाद उपाध्यायले हरेक जुक्ति गरे । उनले बम्बईका एक जना जान्नेमान्छेको नाउँ सुने । त्यसैले पटनाबाट मान्छे खटाएर उनले बम्बईबाट डाक्टर झिकाए । अब्दुल रहमान नामक डाक्टर बम्बईबाट पटना आए । उनी तान्त्रिक विधिले उपचार गर्थे । सास भइन्जेल आश हुन्छ भन्ने हिसाबले डा. रहमान पनि अम्बालिकाको जीवनको उद्धार गर्न लागिपरे । उनले अम्बालिकालाई औषधी खुवाउँथे र उनका खुट्टा सोझ्याउन खोज्थे । केही दिन उपचार गरेपछि डा. रहमानले पनि हारे । अन्ततः त्यही उपचारका क्रममा अम्बालिकाको चोला उठ्यो । उनी १९९३ सालको पुस १ गते पटनामा स्वर्गीय भइन् । उनको स्वर्गारोहण भएको पाँच वर्ष बितेपछि उनका पति पनि उनकै पछि लागे । वास्तवमा अम्बालिकादेवी र अम्बिकाप्रसादबीच अपार प्रेम थियो । अम्बालिका बाँचुन्जेल उनीहरू एक रात पनि छुट्टिएनन् । त्यसैले अम्बालिकाले पनि उपन्यास लेख्तालेख्तै साङ्केतिक कविता पनि लेखेकी थिइन् :
घरमा वनमा मशान माहाँ
हजुरैसीत रहन्छु छोड्छु काहाँ?
हजुरैकी सदा बनेर छायाँ
म त बस्छु सँगमा गरेर माया ।