कस्तो कालो घडी घडीले केस्रा केस्रा पारेको
यो रात रात होइन प्रिया, तिम्रो केश फुकेको
कालीको भित्री तरङ्गजस्तै मुलायम गम्म परेको ।
समस्त संसारसित तिम्रो कपालमा म डुबेको छु
ताराहरू तिम्रो रौं टल्केको, चन्द्रमा भाल टल्केको
तारापथ तिम्रो सिउँदो
व्योमकेशमा विलय भएको ।
पहिले यो तम खाली नींद थियो
तिमीले त्यसमा स्वप्नहरूको ज्योति भन्यौ
भविष्यको ऐना हेरी
बितेका दिनका दांती भएको काङ्गियोले
लामो रात कपाल कोरी पश्चिमतिर पल्टायो ।
पूर्वमा लाली चढेका बादलका आकारहरू
तिम्रा हृदय का मौन मुस्क्यान खेल्दै नाचिरहेका हुन् ।
तिमी मरेकी छैनौ।
अनि सूर्य तिमीले हाँसेको दन्तपुञ्ज झुल्केको हो
हिमालय तिम्र श्वेत अङ्ग हो-घुमाउरो भै पल्टिरहेको-