ओखरको त्यो हाँगामाथि
कुखुराहरुले कनिका चोर्दा,
ब्रह्मवेला झुकी सोहोर्दा,
दोसाँध हुँदामा दिनको जाति,
मारी एक चरीले गोली,
मीठो, तीखो, भनूँ के ? साथी !
मीठो, तीखो, भनूँ के ? साथी !
धोबिनीले पगली बोली !
डोली डोली जब त्यो बोली !
खुल्न नसक्ने दुनियाँ खोली !
स्वपना, बिपनाको छ किनारा,
भागिसकी छ साथ सुतेकी,
प्यारी, वयसी, लजिली मेरी,
मस्त सँगी पनि, सँभली सारा,
निद्रा नाउँ, निशाकी डोली !
धोबिनीले पगली बोली !
विचित्र हुन्छन् क्षणहरु कोही,
बिपना मुस्की, सपना रोई !
त्यस क्षणमा क्या अमृत घोली !
बोधिसत्वले जाग्यो बोली !
त्यसका सुरमा किरण कराए,
छोटा निशि–निर्वाण डराए,
यस्तो सनातन स्वप्न छिचोली !
स्वर्गद्धारका कवुजा कराए !
प्रलयका सब सेना डराए !
विजयी दिनकर उक्ले चूली !
धोबिनीले पगली बोली !