यमुनाजलमा बज्दछ मुरली !
जलमा बुलबुल रुन्छन् पिलपिल !
रुन्छन् कलकल !
यो तटको, वन छाया छवियुक्त
यौवन, यौवन !
दिवानिशाको छाया अङ्कित,
वियोगमिलनको क्रीडाभूमि,
वृन्दावन !
यो मिलनको रोइरहेको इतिहास !
याद रुँदाको बास !
पिरली चल्दछ एक अगोचर मुरलीमा
यस स्थलमा रे
प्रेमी प्राणहरुको बतास !
सरिताको छ सागररोदन !
एक सुनौली सन्ध्या पछाडि,
खोजी, खोजी,
पौडिरहेछन् जलमा क्रन्दन,
जलमा क्रन्दन !
अबोला निशा छ चिहान सरि यो,
कब्र उपरका क्रन्दन सरि
आँसु बिन्दिए स्वर्ग भरि रे,
स्वर्गभरि !
विश्वका अघिपति रुन्छ यहाँ,
आफ्ना फूलहरुमा !
आफ्ना मृत्यु र परिवर्तनका
आदिम, स्वनिर्मित नियम रुपका
भूलहरुमा ! भूलहरुमा !
आफैं घोची आफ्नो छाती
शूलहरुमा ! शूलहरुमा !