लीला माइतका भुलेर घरका धन्दा तिमीले गऱ्यौ
आमाको ममता भुलेर कसरी माया मलाई गऱ्यौ
छातीबाट झिकेर प्राणसरिका छोरी मलाई दियौ
हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ
‘ख्वै छोरीहरू छन् कता, म त गएँ, ख्वै माइती छन् कहाँ !
प्यारा ! यति रहेछ भेट, टुहुरी हेरेर बस्नु यहाँ !’
धोको यत्ति कहेर के हृदयले उल्टीरहेकी थियौ
हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ
मैले सोधिनँ, अन्त्यकाल कुनमा धोको अडेको थियो
मैले रोइनँ, प्राण जान कतिको बाधा परेको थियो
हेरेँ टुल्टुल खाली, दीन मुखमा हेरीरहेकी थियौ
हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ
आँसू झर्न सकेन खालि रसिला आँखा लिएकी थियौ
बाक्लो फुट्न सकेन खालि दिलको भाषा भनेकी थियौ
मेरो ध्यान गरी मभित्र कसरी आत्मा मिलाईदियौ
हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ