प्रत्येक पल कहाली लाग्छ
आजभोलि संधै नै
तितो कर्कस स्वादको यो जिंदगीमा
तर पनि आशाको झिल्को
मनाकाश भरि झुल्किंदा
सप्तरंगी सपना देखेसरि
अनायासै बन्द हुन्छ परेली
भाव विभोर भई !
पर्खाइमा रात ढल्छ
अन्धकारले जित्छ मलाई
लाग्छ जीवन भुवाको फूल
पत्तै नपाई झर्न सक्छ अहिले नै
आँसु जति बगे पनि
सुख बनि कहिले त फुल्ला
आँसुकै फूल,
अन्तिम समयमा भए पनि !
पखालिन्छ संधैं
आँसुले नै यो मन किन ?
लाग्छ यो नियति हो कि , मेरो
प्राय : म सोध्छु
अँध्यारो रातको पहर भित्रको
सन्नाटाहरुलाई
आँखामा आँसु उर्लन्छ किन ?
आँसुको यो बाध्यताले
लज्जित पार्छ यदा कदा परेलीलाई
प्रतिबन्ध छैन यहाँ
अद्यापि आँसुमाथि
सायद मेरो घाऊले
आँसुसित वाचा लिएको होला !
पर क्षितिजमा
आस्था नै टुक्रिने गरि
लस्करै मन फाटेको बेला
पानीका थोपाहरु पनि
अम्ल झैं पोल्ने गरि
सपनाहरु माथि वर्षन्दा
आफै प्रतिको बितृष्णाले आक्रान्त हुन्छु |
पहिल्याउन कठिन भएका
अर्थहीन यात्राका डोबहरु
लादेर आफ्नै लक्ष्यमाथि
प्रतिशोध दाग्ने
आफै बिरुद्धको यो अभिष्टता
असन्तुष्टिको पराकास्ठा हो कि ?