हामी टुटिरहेछौँ
हामी फुटिरहेछौँ
मक्किएका विचारहरू बोकेर
भुत्ते दिमागको
धारिलो चमक खोज्दै
अगाडि बढिरहेको
दिग्भ्रमित आँखाका दृष्टिमा
खुर्किन नसकेको खियार्
तर्कहीन तर्कमा
बाँचिरहेछौँ
आरुका फूलहरू नफुल्दै
कुहिराबाट निस्किएर घाम नखुल्दै
चिसो सिरेटोमा मुटु कमाउँदै
खोजिरहेछौँ वसन्तको न्यानो
ठुस्स गनाउने सास बोकेर ।
हामी नियतिले ठगिएका हौँ -
या हामी नियतिलाई ठगिरहेछौँ
आफ्नै कमजोरीमा रमाउनेहरू
बारबार मर्छन्
र बाँच्ने बहाना गर्छन्
हामी त्यसरी नै मरिरहेछौँ
र भ्रममा
बाँच्ने प्रयास गरिरहेछौँ
निरन्तर लोडसेडिङको अँध्यारामा
गुमनाम जिन्दगी
खिइँदै खिइँदै
कलेजो क्षीण बनिरहँदा
आफैँ जलिरहेछौँ शनैः शनैः
र खुसी मनाइरहेछौँ
आफ्नै अवशानमा
शुभकामना र बधाईसहित !