समय किन आगो हुन्छ ?
अनि मात्र झुपडी सँधै
झुपडीहरु मात्रै जलाउन खोज्छ,
र जलाऊँछ पनि, सँधै नै
क्रुरताको पराकास्था नाघेर ।
आगो किन झन आगो हुन्छ
भोका पेटहरुमा सल्केर
र जलाईन्छ श्वाश - प्रश्वाशहरु
डढेलोमा पारेर, बनाईन्छ खरानी
अनि सजाऊँछन् सहानुभूतिका चिहानहरु ।
सजल मनका भाषाहरु
किन बुझ्न चाहँदैन, यो निष्ठूर समय
र लाड्न खोज्छन् फेरि अराजकताहरु
भग्नावशेष माथि पनि गर्न खोज्छन्
अनि गर्छन् पनि बलात्कार, बारम्बार ।
आगो बनाईएका समयको तारो
एकतमासले, एकै तालले
किन बज्रीरहंछ, सँधैभरि नै
केवल छाप्राहरुमा मात्रै !
एकटुक्रा सपनाको आकाशमा
इन्द्रेणीको हकदार किन मानिंदैन
यथार्थताको उर्बर जमीनमा
खुशीका फूलहरु रोप्न किन दिईन्दैन
उमंगहरु आलिशान महलहरुको एकाधिकारमा त छैनन् ?
समय किन यतिबिघ्न
एकतर्फी बनेको होला
आगो किन यसरि निर्लज्ज
झुपडीहरुमा नाच्न सकेको होला
समय र आगोको कस्तो यो गठबन्धन ?
संयमताको अन्त्यतिर
मनहरु आगो बन्न आत्तुर हुने बेला
चिस्याईएका भनिएका खरानीबाट पनि
सल्किन थाल्छ जब आगो, तब
श हरका दमकलहरु स्तब्ध उभिएको उभियै हुनेछन् ।
त्यसबेला खुट्याउन गाह्रो हुनेछ
महलको शहर कि, आगोको शहर !