आजभोली म सोच्ने गर्छु
दाँत किटी किटी
भए नभएको बल मुठ्ठीमा लगाई
म गम्भिर भएर सोच्ने गर्छु
निरन्तर अनवरत
त्यहि सोचाईको उपज
मेरो कल्पना बनेको छ
मेरो एउटा महत्वाकांक्षा
फलस्वरुप यस्तो लाग्छ
एकपटक मेरो देशमा सुनामी आए हुन्थ्यो
हो साँच्चै सुनामी
ईतिहास साक्षी छ
सुनामी पछिको ध्वस्त संरचनाको
निश्चय नै ध्वस्त हुन्छ
अनि निर्माण हुन्छ नयाँ
त्यसो हो भने सुनामी आउनै पर्छ
मेरो परिदृश्यमा सुनामी मानव बस्तीमा हैन
सुनामी संसदभवनमा आउनु पर्छ
जहाँ हाम्रा रगत्, पसीना चुस्नेहरु
निस्फिक्री, निर्धक्क आराम फर्माईरहेकाछन्
संसद अवरुद्द पार्दै अनाहकमा टेबुल ठटाई
नोट अफ डिसेन्ट लेख्छन्
जहाँ जनतालाई मिठो सपना देखाई
कुम्भकर्णहरुको मेला लागिरहेछ
जहाँ हाम्रो मूल्य मान्यताको दिनदहाडै हत्या गरिन्छ
अनि लाशको मोलमलाई हुन्छ
राष्ट्रियताको बलात्कार गर्छ
न्निर्लज्ज, बेसरमहरु
कथित संसदको हार्ड डिस्कको भाईरसहरु
जसलाई डिलिट गर्न सकिरहेका छैनौ
तिनीहरुलाई सखाप पार्न
अब सुनामी आउनै पर्छ
यी सल्बलाईरहेका किरा
यिनका दुर्गन्धित बस्ती हटाउन
सुनामी आउनै पर्छ
स साना आँधीबेहरी त २००७ साल देखिनै
पटक पटक चलेको हो
तर तर त्यसले यो दुईखुट्टेहरुको बस्ती बढार्न सकेन
त्यसैले एकपटक सुनामी आउनै पर्छ
अनि हामी शान्त किनारमा फेरि आफ्नै संरचना तयार पार्छौ
असल राज्यको ढाँचा बनाउनेछौ
कानुनी राज्यको ढाँचा बनाउँछौं
फेरि उहि निश्पक्ष, शोषणरहित समाजको निर्माण गर्नेछौ
पक्का गर्नेछौ मात्र सुनामी आओस