आकाश धुम्मिएको छ
मान्छे धुम्मिएको छ
कालो बादलले छोपे झैँ
मन धुम्मिएको छ
न पानी परेको छ
न घामै लागेको छ
मनबाट सुरक्षा भागेको छ
कालो कालो छायामा
घुर्मैलो आकृति
यतैतिर आउँदै छ
टाउको छ जस्तो पनि छ
टाउको छैन जस्तो पनि छ
कुमकुममा पिलिक्क बलेका आँखा झैँ
जूनकिरी चाहिँ पक्कै होइन
आकाश धुम्मिएको बेला
के टल्किरहेछ -
तिम्रो आफ्नै इतिहास छ
मेरो आफ्नै इतिहास छ
इतिहासले इतिहास चिनेको छ
तर मान्छेले मान्छे बुझेको छैन
केवल भाषणबाजीले आकाश उघ्रिने छैन
नाराबाजीले दिन सुध्रने छैन
पानी तप्पतप्प चुहिएला जस्तो
हिउँ छप्पछप्प ओइरिएला जस्तो
के हाम्रो आकाश धुम्मिएको हो -
बुद्धका आँखाले चियाइरहेछन्
'खोई, मैले रोपेको शान्तिको विउ -
र कुशीनगरको पहिलो सन्देश'
तर,
सिन्धुकिनारको सभ्यता
आज हामीलाई गिज्याइरहेछ किन -
छ सहस्रब्दी पूर्वको सभ्यताको ऐना
मनभरिभरि बोकेर
दिमाग खियाउँदा खियाउँदै
खिएर क्षीण भैसकेको
शून्य दिमाग
धुम्मिएको आकाशमा
झिलिक्क विजुलीको झिल्का आउँदा
डरले थर्र मुटु कामे झैँ
कामिरहेछ सिङ्गो संसार
प्रलयको आशङ्कै आशङ्कामा
हाँस्ने मन पनि रोइरहेछ
कालो बादल मडारिरहेछ
आकाश धुम्मिरहेछ ।