अब तिमी न आउ
तिमी न आएकै जाती
मेरो क्षितिज रग्ताम्य पार्न
मेरो आँगन मसानघाट बनाउन
तिमी अब दोर्ह्याएर न आउ
कहिले बम् बारुद बन्यौ
कहिले आतकं रात बन्यौ
कहिले ज्वालामुखी बनि जलायौ
त कहिले रगतका आहालमा
चुर्लुम्म डुबायौ
बबण्डरको हुरीहुण्डरी बनि
मेरो सुन्दर घरसंसार उडायौ
विस्फोटका ती छिटाले
आज पनि पोल्दैछ
त्यसैले तिमी न आउ
आज तिनै मर्महात
मेरा यी आँतमा
सहमतीका मल्हम लागेकोछ
भत्किएका मेरा पिढीं
हस्ताक्षरले लिपिएकोछ
चुडिएका मेरा सन्तानहरु
हातेमालोको साङलोले कस्सिएको छ
छट्पटिएका मनहरुमा
केहि राहत अनुभव गर्दैछु
स्वयम्भुका आँखाहरुबाट
निस्किएका ज्योतीर्मय किरण
आज म मा सल्बलाउँदैछ
सायद मेरा विगतका पीडाहरु
विस्तारै पलायन हुदैछ
मेरा भाँचिएका खुट्टाहरुमा
बैशाखी चढेको छ
सुस्त सुस्त म हिड्न थालेको छु
त्यसैले मेरो यो खुसीको क्षण
प्रलय बनि खोस्न न आउ
किनकी तिमी ईतिहास भयौ
वर्तमान बन्ने धृष्टता नगर
साँच्चै अब तिमी न आउ
दोर्ह्याएर कदापी न आउ
केहि समय अघि मात्रै राजनीतिक दलहरुले सात बुंदे सहमति गरि देशलाई निकासा दिन्छु भन्ने घटनाले फुरेक यो मेरा रचना(कविता) १०२ औं लक्ष्मी जयन्तिको अवसरमा बाचन गरेका थिएँ ।