मैले तिमीलाई मन पराएँ
पत्यार गरेनौ
तिमीलाई माया गरे
पत्यार गरेनौ
तिम्रा दुःखहरूमा दुखे
त्यो पनि पत्याएनौ
तिम्रा पौरख र प्रगतिमा गीत गाएँ, नाचे
अहँ त्यसलाई पनि विश्वास गरेनौ
तिम्रो नाम लेखे बाँसमा, ढुंगामा, दलिनमा
घरका भित्ताहरू र खाली ठाउँ जताततै
तिमीलाई देखाएँ एकदिन
तिमीले सब नाटक हो भन्यौ
तिमी दृष्टियुक्त दृष्टिविहीन बन्यौ
अविश्वासमा बानी पर्दै गयो तिमीलाई
तिम्रा अपमान र कैयन् लाञ्छनाहरू
कति छिट्टै तिमी हिमाल भयौ - 'अविश्वास' को
शनैः शनैः तिमीले स्वयंलाई अविश्वास गर्यौ
तिम्रै आँखा अघिल्तिर म मरेकी थिएँ
त्यसलाई पनि अविश्वास गर्यौ
प्रिय राजकुमार !
प्रेमलाई अविश्वास गरेदेखि मेरो मृत्युसम्म
तिमीले जगत र चैतन्य मात्र हैन
स्वयंलाई पनि अविश्वास गर्यौ - !