फूललाई रुवाएर
प्रेमको बिसौनीमा
सुखको पसर
बाँडिन्छ रे अचेल!
आफैँ हराएर निराश भएको दिन!
आफैँलाई निचोरेर
रगतका थोपा थोपा
र
काटेर मासुका चोक्टा चोक्टा
खाएर अघाईन्छ रे!
झोक्का झोक्का रहरका बतासले
भुवा झैँ
मन उडाएर बतासै थाकेको दिन!
खल्लर रातहरु
जागै हुन्छन् रे अचेल!
घरमा आगो सल्काई
धुरीमा बसेर
ताली पिटिन्छ रे यहाँ!
नि:शुल्क शब्दभोजले अघाएर
डकारेको दिन!
स्वर्ग जाने कच्ची बाटो
खनिन्छ रे यहाँ!
एक छाक आधा पेट खाएर
राम धाम धाएर
ढुगां ढोगेपछि!
अचम्म छ बा!