अरबको बालुवामा डढ्दैछन् रे
मेरा प्रिय दाजुभाई
गाउँका भोका पेटहरु
अनि नाङ्गा आङहरुको तस्वीर
आँखामा झलझली नचाएर।
उनीहरुले मलिलो पसिनाको खोलो
मरुभूमितिरै बगाईरहँदा
धाँजाधाँजा भएर बाँझिरहेका छन्
गाउँका खेतहरु
अनि रुखिरहेका छन्
बारीका ति पाटाहरु।
बिरहका भाकाहरु उराल्दै छन् कोईली
अनि रानी चरीहरु।
तिम्रै सम्झनामा!
गरेका ति बाचाहरु
खाएका ति कसमहरु सम्झँदै
शिशाझैं चर्किएको उदास मुटु लिएर
पाषाणमा तिम्रै प्रेमको चिनो
खोजिरहेका छन्
तिम्रा ति नवविबाहित दुलहीहरु।
आऊ अब
आफ्नै भूमि उर्वर बनउन
उजाड पाखाहरुमा
गुराँस फुलाउन
कलिला पालुवाहरुमा चराहरुको
प्रेमिल गीतहरु गुन्जाउन
अनि गरेका ति पुराना बाचाहरु पुरा गर्न।