एक वार्ता
तपाईले भत्रु भएको थियो —
‘तिमीलाई दुविधा भयो भने
हत्केलामा नेपालको एक मुठी माटो उचालेर सोध
उसले जे भन्छ
त्यही तिम्रो अन्तरात्माको आवाज हुन्छ ।’
म त्यो वाचाल माटो खोज्दै नयाँ नेपालभरि डुलेँ
कतै पनि सिंगो नेपालको माटो पाइन
समस्त नेपालको माटो विभक्त भएछ
जाति जातिको चकलावन्दीमा
ती चकलाबन्द माटोहरु — जो एकअर्कासंग वोल्दैनन्
जो एकअर्काको कुरा र मर्का बुझ्न चाँहदैनन्
ती प्रत्येक चकलाको माटो ढोगेर हत्केलामा उचाल्दै सोधेँ
सबैले केही भने — कसैले भनेको बुझिन
नयाँ नेपालमा जो कुनै जातिको हुँदैन
त्यो नेपाली हुँदैन
नयाँ नेपालका चकलाबन्द माटोहरूले
सिंगो नेपालको नागरिकलाई चिन्न छोडेछन्
नयाँ नेपालका चकलाबन्द माटोहरूले
सिंगो नेपालको नागरिकसंग नबोल्ने शपथ गरिसकेका छन् ।