ए हावा ! सुन
ल्याईदेउ न बादल
जसरी पनि
मन मरुभूमि भए
आश, प्रेमको वर्षा ।
ए धानको बाला ! सुन
बनिदेउ न तिमी एक छाक
भोका पेटहरुमा
र, दर्काईदेउ
तृप्तिको वर्षा ।
ए कपास ! सुन
एक टुक्रा कपडा
बुनिदेउ जसरी पनि
आँखाबाट बर्सिन्दै छ
आँशुको वर्षा ।
कति रूवाउँछौ
फूलहरुलाई दिन रात
बन्द गर अब त
घाऊको वर्षा ।
ए मानिस ! भन
कति भिजाउँछौ
आफ्नो माटोलाई
मानिसकै रगतले ?
बन्द गर सँधैको लागि
रगतको वर्षा ।
ए प्रकृति ! म के भनुँ
कसरी वर्साउँ चेतना भरि
आस्थाको वर्षा
मनभरी मानवताको वर्षा ।
ए धर्मका ठेकेदारहरु !
कहिले गर्छौ
मन्दिर, मस्जिद र गिरिजा घरभरि
सहिष्णुताको वर्षा ।
ए बन्दुक !
तिमी अब न तेर्सि देऊ
ए बारुद !
तिमी अब न पड्कि देऊ
ए क्षेप्यास्त्र !
तिमी अब न दागी देऊ ।
आऊ, बरु फूल रोपौं
आ आफ्नो मुटुमा
अनि वर्षाउँ, खुशीको वर्षा
विश्वभरि शान्तिको वर्षा ।