फुल्दैनन् जब फूल सुन्दर कला बोकेर छातीभरि
झुल्दैनन् जब धान खेतहरूमा को भर्छ पाथीभरि
उड्दैनन् जब पन्छि गान रसिला गाएर आकाशमा
मौरी अल्मलिएर घुम्छ वनमा फर्कन्न आवासमा ।।
फिर्फिर्फिर् पुतली नघुम्ने, मनमा सन्त्रास बोकीकन
काफल फल्न रुचाउँदैन रूखमा निख्रेसरी यौवन
लेकाली जलवायु तातिन गयो गर्मी बढेझैँ भयो
आँसुमात्र झरी रहे गरिबका पैरो गएझैँ भयो ।।
के मान्छे अझ दास बन्छ अहिले एक्काइसौँ यो शदी
आफ्नो राज्य स्वयं उ गर्छ कहिले, मक्किन्छ कालो छडी
पोल्छन् तप्तप ऊष्णऊष्ण पसिना आगो बलेझैँ हुँदा
बस्तैनन् अब कोहि रोइ डरमा आफैँ जलेझैँ हुँदा ।।
कोक्राबाट जुरुक्क उठ्छ बचरा रोगी समेत् उठ्तछन्
बेरामी सब उठ्तछन् जुरुजुरू मूर्दा समेत् जुट्तछन्
सुत्केरीहरु उठ्तछन् सबलता छाती बनाईकन
बृद्धाबृद्ध समेत फेरि बलियो लठ्ठी समाईकन ।।
सारा एक जुट भै जुटेर सहसा जागे भने देशमा
सामन्ती दल टुट्छ फुट्छ सजिलै पाइन छ सन्देशमा
यस्तै मार्ग समात्नुपर्छ अहिले यो देश निर्माणमा
भाग्नेछन् खलपात्र त्रस्त मनले चम्क्याइलो घाममा ।।