आज मेरो मथिङ्गल हल्लिएको छ
सोच र चिन्तनधारा झोल्लिएको छ
भोका नाङ्गा निमुखाहरुको पिडाले हो
अथवा, टाठा-बाठा हौँ भन्नेहरुको वितण्डाले हो
मष्तिस्कले खुट्याउ सकेको छैन
कुन सहि वा गलत छुट्याउन सकेको छैन!!
आखाँ सामु देखिएको ठगिलाई पत्याउँ
वा, ठगिनेको भाग्यलाई कोसौँ
घर पछाडि गोरुले मकै चरेको नदेख्ने
तर, मेरो मरेको बाबुले वैतर्णि तर्न नसकेर
हज्जारौ कोष टाढा मरुभूमिमा छट्पटाएको देख्ने
पण्डितले भन्ने पुराणको कथालाई पत्याउँ
वा, अहोरात्र श्रम गरेर श्रमको उचित मूल्य नपाएर
भोक र रोगले आक्रान्त श्रमिकको जीवनलाई धिक्कारौँ
म के गरौँ, मलाई गाह्रो भएको छ
मन र मष्तिस्क द्विधामा परेको छ!!
आन्दोलनमा जनता उराल्ने
अनि तिनैको बुतामा सत्तामा पुगे पछि
“खोलो तर्यो लौरो बिर्स्यो” उखान चरितार्थ गर्दै
उनै जनताको र मुलुकको दोहन गरेर
आफु र आफन्तको मात्र भविष्य निर्माण गर्ने
राजनीति कर्मि नेतागणको निकृष्ट क्रियाकलापलाई
उन्को भाग्य भनेर इर्स्या गरौँ
अथवा, जनताको निरिहतामा निरासियौ
म के गरौँ , मलाई बुझ्न कठिन भएको छ
मन यत्र तत्र गएको छ!!
जो जाल-झेल, झुठ, षडयन्त्र, धोखा, प्रपञ्च गरेर मस्ति गर्ने
उसैको भाग्य चम्किने,
तर, सोझा-साझा र इमानदारको सदा कुभलो मात्र हुने
अथवा, जालि-झेलि फरेविको भाग्य
सोझा-साझाको दुरभाग्य हुने
यसलाई म के भनौँ
मैले बुझ्न सकिन
के इमानको नतिजा दुरभाग्य र
वेइमानको परिणाम भाग्य हो त !!