म अबोध मान्छे
मेरो मस्तिमा अधम र मुर्खताको
घातक दाग लागेको थिएछ,
मेरो बैठान कट्टर थियो
र त कसैको दिलको कुरा बुझ्न असमर्थ थिएँ ।
असमर्थित म जब फालिएँ
तब,अकडिएका मेरा बैठान पग्लिन थाले
अनि मस्तिका दागहरु पखाल्न थाल्यो
बिस्तारै-बिस्तारै
सुस्त-सुस्त
अनि चेतना खुल्न थाले
तर म रित्तीसकेको रहेछु
चेत खुल्न अगावै,
यसर्थ आज पश्चातापको मैदानमा
नि:सहाय म छटपटाई रहेको छु ।
किन कि,
कुनै दिन मेरो पनि
एउटा छुटै संसार थियो
जहाँ आमोदले सृंगारिएको थियो
प्रेम मय वातावरण थियो
त्यस बखत मेरो साथमा रमाउने
मलाई जीवित रहनमा टेवा पुर्याउने
अनि
मलाई हरदम साथ् दिने
कुनै मीमांस्य चरित्रका व्यक्ति थियो !
तर गन्तव्यको टुंगो नलागी नै
प्रवर्त मै टुक्रिए छ ति पलहरु
टुटेका चुरा झैं चकनाचुर
अनि
चुटिएको पोते झैं छताछुल्ल भएका छन् ।
आज जसको अभाबमा
अभिसार नै उजाड
जिउनार नि खल्लो
सुरसदन नि अनौठो
यहि अनुभब पनि हुँदै छ,
र लाग्दैछ दीर्घनिद्रा नै प्यारो अब मेरो लागि ।