सयौँ हैन, हज्जारौँ-लाखौँ अनि करोडौ
थरि-थरिका फूलहरु फुल्ने मेरो फूलवारी
आज माली विहिन भएको छ,
रेख-देख र गोड्-मेलको अभावमा
सवै झार-पातले ढाकेको छ
ढकमक्क फुलेका फूलहरु देखिनु पर्ने,
तर,काम नलाग्ने झारहरुको विजनपो पाकेको छ!
त्यहि भएर झार र फूलको विरुवा चिन्न सक्ने
दुईटाको विचको भेद जान्न सक्ने
अनि झार मासेर फूल फुलाउन सक्ने,
मलाई एउटा माली चाहिएको छ!
उच्च हिम श्रृङ्खला देखि तराईको समथर फाँट सम्म,
पूर्वको मेचि देखि पश्चिमको माहाकालि सम्म,
हिमाल, पाहाड, तराई, भित्रिमधेस, उपत्यका, खोँच,
भिर-पाखा, वन-जङ्गल आदिको जानकार,
अनि कुन ठाउँमा कुन फूल फुलेको छ,
र अझ राम्रो फुलाउन सकिन्छ भन्ने सिप भएको
मलाई एउटा माली चाहिएको छ!
किट नासक र विष नासकको जानकार
(किनभने विषादिले स्वास्थ बिग्रिएको छ)
ऋतु परिवर्तनको ख्याल राख्न सक्ने
कुन विरुवालाई कति वेला र कस्तो प्रकारले
सिँचाई गर्नु पर्छ भन्ने ज्ञान भएको,
झुसिलकिरा र सलहबाट वोट-विरुवा जोगाउन सक्ने,
वर्ड्फ्लु जस्ता वाहिय प्रभावि रोगहरु भगाउन सक्ने
मलाई एउटा माली चाहिएको छ!
समग्रमा, आफ्नो काममा लगनशिल, दक्ष, निष्ठावान्,
फूलहरु संग मितेरि नाता गाँस्न सक्ने,
काडाँहरुको घोचाईमा पनि हाँस्न सक्ने,
फूल फुलाउने धर्तिलाई असिम मायाँ गर्ने,
हरेक हिसावले अतिनै भर पर्दो, यहि धर्तिमा जन्मिएको
मलाई एउटा माली चाहिएको छ!