मनको ढोकामा
किरिरी किरिरीको
मीठो पुकार
आजकल हरप्रभात बज्दैछ निरन्तर
उत्सुकतापूर्ण हातले
जसै उघारेँ
ओठहरु मुस्कुराए मेरा
लाग्यो ढोकाबाट थोरै घाम छिरयो
आँखाहरु रसाए मेरा
मानौ लामो खडेरीपछि वर्षात भयो धरतीमा
कौतुहलले स्पन्दित भयो छाती
मानौ निद्राबाट कसैले ब्युँझाइदिएको होस्
आधी उघ्रेको ढोकामा
कुनै पुरूष उभिएर
फिस्स हाँस्दैछ मसंग
फूलको बुके लिएर एउटा हातमा, र
शब्दका शुभकामना लिएर अर्को हातमा
निशब्द ... भए म
ऊ पनि निशब्द
त्यो समय पनि निशब्द
मन मात्रै थियो संगीतमय
नाचिरहेको अतीतसँग
उत्सुकताले स्पन्दित भए मुटु मेरा ...
कामनाहरूले झंकृत भए मेरा स्नायु समस्त
पुरूष फिस्स हास्दै मतिर
ढोकामै विलीन भयो
मेरा एकांकीहरू छाडेर
मेरा कामनाहरू अलपत्र पारेर
सपना र समय फेरि टुहुरा भए
उसको मृत्युले
शून्यले छायो फेरि मेरो धरती, मेरो आकाश
ऊफ्
मदहोश झै मेरा मानसपटल
खुसीले रक्तिम मेरा मुहार
सेलायो करोड वर्षअघिको पृथ्वी जसरी
र मनको धरतीमा
पहाडहरू उठे, नदीहरू बगे
बादलहरू मडारिए पटक पटक, र
भिजाइरहे मेरा निर्दोष आँखाहरू
हेर्दाहेर्दै ताराहरूको देशबाट
मेरो पुरूष फेरि आयो
हातमा ताराहरू थिए
दूबोहरू थिए
र थियो पिताम्बर
मनिर आएर उसले मेरा आँखामा डुब्दै भन्यो
जन्मदिनको शुभकामना तिमीलाई
यी ताराहरू तिमीलाई
यो दूबोमा खोज्नु तिम्रा सपनाहरू
र पिताम्बरले ढाक्नु जीवनको जाडोलाई
जन्मदिनको शुभकामना तिमीलाई ।