जति पनि लेखिएका शब्दहरु हुन्छन ।
सबै बास्तबिक यथार्थ नै
हुन्छ भन्ने पनि छैन ।
कविले कल्पनामा
सागरको मोति झिकेर,
चन्द्रमाको ज्योति टिपेर,
सारा जगत एउटा मालामा उनेर
र सारा मुटु र मन लाई
आफ्नो वशमा पारेर
कविता, गीत, गज़ल,
कथा, नाटक, खण्डकाब्य,
महाकाव्य र गीति कविता कोर्ने गर्छन ।
पात्रको जीवनी, कसैको संसारको सुनौलो बिहानी
र दुइ मुटु एक गर्ने प्रेमको कहानी
यी सबै कुराहरु के सबै कविका
जीवनमा घटेका घटना होलान र ?
होइन यो स्वार्थी संसारका पाठकहरु
सर्जकको सिर्जनाको अर्थ नबुझी,
बास्तबिकताको धरातलमा उभिएर नहेरी
कल्पनामै शब्दहरु कोरेर
साहित्य सिर्जना गर्ने कविलाई दोषी किन ठान्छन ?
के साहित्य सिर्जना गर्नु दोष हो ?
के प्रेम गर्नु पाप हो ?
के कसैको मायामा रमाउनु अभिशाप हो ?
यदि यस्तो केहि होइन भने
यिनै कबि माथि नाना थरि शंका गरेर
यो दुनियाँमा उच्च शिक्षाले
सु-सज्जित समाज, पाठक
र आत्मीय मनहरु किन बहुलाउँछन् ?
म यसको उत्तर खोजिरहेछु ।
हजुरहरुले हाँसी हाँसी उत्तर दिन सक्नु हुनेछ ।
यदि हजुरहरु संग उत्तर छैन भने
बिन्ति गर्छु कबिलाई दोषीको संज्ञा नदिनुहोस ।
यसैमा सबैको भलाई हुनेछ ।
किनकी सिर्जना स्वच्छ विचार हो ।