हामी स–साना छँदा
आँगन वा धुले बाटामा
आयाताकार कोठाहरु कोरेर
खरल्याङखुट्टी खेल्ने गथ्र्यौँ
–एम राइट..? –राइट !
–एम राइट..? –राइट !!
म सँधैँ राइट हुने गर्थेँ
तर जिन्दगीको खेलमा
म कहिल्यैं ‘राइट’ हुन सकिनँ
मान्छे हुनुको प्रतिस्पर्धामा
विजय–स्तंभ कहिल्यैं छुन सकिनँ †
एक...दुई....तीन गर्दै
क्रमशः आठ ओटै
कोठाहरुबाट गोटी पास गरिसकेपछि
हामी घर बनाउने गथ्र्यौँ
सबैभन्दा बढी घर मै बनाउने गर्थेँ
अनि सबैभन्दा बढी घर
बनाउन पाएको उत्फुल्लतामा
म हिटलर बन्थेँ–
र/अरुले अलिकति बाटो माग्दा पनि दिन्नथेँ
यहुदीलाई जस्तो औँधी खेँदो गर्थेँ
म नेपोलियन बोनापार्ट बन्थेँ–
र/ युद्धबन्दीलाई जस्तो खूब हेप्थेँ
अरुलाई उफ्रेरै कोठा नाघ्ने आदेश दिन्थे
तर जिन्दगीको खेलमा
मैले एउटै घरसमेत बनाउन सकिनँ
घर बनाउनु त टाढाको कुरा
घरको सपना समेत सजाउन सकिनँ !
फरक हुँदोरहेछ
खरल्याङ्गखुट्टीको खेल र जिन्दगीको खेल !!
खरल्याङ्गखुट्टीको खेलमा
एउटै खुट्टाले टेकेर पनि म सँधैं जित्थें
प्रत्येक पटक विजयी हुन्थेँ
तर जिन्दगीको खेलमा
दुईवटै खुट्टाले टेकेर पनि
मैले कहिल्यै जित्न सकिनँ
एकैपटक पनि विजयी हुन सकिनँ
विजयी हुनु त टाढाको कुरा
'एउटा ओत' र 'अलिकति जोत'
-जिन्दगीको आधारभूत् आवश्यक्तै पूरा गर्न सकिनँ !
-जिन्दगीको आधारभूत् आवश्यक्तै पूरा गर्न सकिनँ !!