देखेँ
सत्र वर्षकी युवतीको काखमा सानो नानी
भीख माग्दै सडकछेउ बसेकी तिनी
भनेँ, ‘नानी रोइरहेछ, दुध खुवाऊ’
‘यो नानी होइन मेरो लोग्ने हो’
सोध्छु, ‘कसरी यस्तो सानो नानी तिम्रो लोग्ने ?’
जवाफ दिन्छे, ‘ यो यती हिमतालको जलको फल !’
‘कसरी ?’ नसोधी बस्नै सक्तिनँ
टाढा क्षितिजतर्फ हेरिरहन्छे र मलाई हेर्दै भन्छे
‘हामी दम्पति
यहाँबाट हजारौँ किलोमिटर टाढा हिमाल फेदीमा बस्थ्यो
सँगसँगै पचास हिउद वर्ष बितायौँ
छोराछोरी पाएर हुर्कायौँ
हुर्केपछि बचेराझैँ ती कता कहाँ गए
फर्केर आएका छैनन् ।’
‘अनि तिम्रो लोग्ने ?’सोध्छु
‘ई मेरो काखमा ’ काखको नानी देखाउदै भन्छे
छक्क पर्छु कस्तो उदेकलाग्दो सत्य हो वा होइन
‘होइन यो सत्य हो
सुन, हामी पति पत्नी खेतीपाती, भेडापालन गरेर
हिमाल फेदिमा बस्थ्यो
भेडा पाठाहरू हराउदा म हिमरेखामाथि
हिमस्थानहरूमा खोज्दै गएँ तिनीहरूलाई
यतीको पाइला देखेँ
पाइला पछ्याउदै जाँदा
यती हिमताल पुगेँ
थाकेको तिर्खाएको मैले त्यसको पानी खाएँ
खानासाथ म साठी वर्षकी बुढी १६वर्षकी तरुनी भएँ
त्यही सङ्गलो पानीमा आफ्नो रूप हेरेर दङ्ग परेँ
फर्किएर घर सबै बेलीबिस्तार पतिलाई सुनाएँ
पतिदेव पनि यती हिमताल गएँ
तीन दिनसम्म नफर्कदा खोज्दै म त्यहाँ पुगेँ
देख्छु उनी त सानो नानी भएर लडिरहेका
बढि तन्नेरी हुने लोभमा पानी धेर खाएछन्....
बोकेर सानो नानी पति म घर फर्किएँ
गाउँलेहरूले घर पस्न दिएनन्
उनीहरूले मेरा हिमतालको कुरा पत्याएनन्
बोकेर पतिलाई एब महिना हिडेर यहाँ आएकी छु
मागेर भिख आफ्नो र पतिको गुजारा गरिरहेकी छु ।’
पत्याऊँ कि नपत्याऊँ
दोधारमा परेर उनीहरूलाई हेरेको हेरै भएछु
मनमा सोच्न थालेछु
साँच्चै त्यस्तो यती हिमताल होला ?
साँच्चै त्यस्तो यौवन दिने हिमताल भए...!