म को हूँ?
म नाङ्ग्ला काने गजानन्द नि होईन,
त्यो गजभार बोक्ने बुचाकाने,
मुसानन्द नि होईन ।
म को हूँ?
अतिरिक्त प्रलयनेत्र भएको त्रिनेत्र निहोईन,
ऊनैको कण्ठमा बुढियाको पटुकीसरि बेरिएको
बिषधारि नि होईन ।
चुनाबमा जुकासरि स्याउ स्याउ निस्कने,
नेता नि होईन,
अनि तिनै नेताको फेटाको लागि,
ख्याल ख्यालमा सहिद भएको त्यो केटा नि होईन ।
म को हूँ?
म त थुतुनो र मुतुनो भएको एउटा,
साधारण मान्छे हुँ,
जो कहिले थुतुनाको थुँ थुँ मा थुकिएको हुन्छु,
कहिले मुतुनाको सू सू मा सुतिएको हून्छू ।
हो,फाटेको टोपी र धरो- सुरुवालमा,
तेस्रो ग्रहको एलिएनसरि देखिने,
म एउटा साधारण नेपाली हू,
जससँग आँफ्नै खूनले प्रश्न तेर्साउने छ भोली-
"म को हूँ?"