१
मर्ने बेला मलाई अति अति बलवान् शत्रुले घाउ लागोस्
तिम्रो यो हात मेरो रगत हृदयको प्रीतिले पुछ्न आओस्,
मर्ने शय्या मलाई नरम नरम होस् रक्तले युद्धभूमि,
होस् हाम्रो मुख्य हेतुप्रकरण रणको एक नै जन्मभूमि !
२
मेरो अस्ताउँदाको जिउसंग जिउ यो एक तिम्रो अँटाओस्,
तातो भारी विचारी शिर सुखसित यो काखमा नै विसाओस्
तिम्रो आँखा रसाई अमृत शशि भई छर्किदेओस् ममाथि,
मेरो आँखा धमीलो झिमझिम नगरी खालि हेरोस् नदेखी ।
३
काला हन् सूर्य चीसो सकल भुवनमा कालिमा घाम लागोस
ढुकढुकमा कान थापी शिर करङहरू सुस्तरी किच्न थालोस्,
मेरो छाती भिजाओस्-नय नजल बनी प्रेम-गङ्गा बहाओस्,
तिम्रो गाला उचाली सहज मुटु फुटी जोडले म्वाइँ खानोस् ।