खुल्ला निलो आकाशमा
उडी रहेका
पंछीहरु भन्दा
माथि माथि उडेका
मेरा अन्जान ईच्छाहरु,
कहिले मायावी संसारको
रमाईला परिबेश भित्र
कहिले तारापुन्जहरुका
टिलपिल प्रकाशलाई
त कहिले मनोहर
चन्द्रमाको प्रकाशलाई
गिज्याउन आई पुग्थे।
कहिले खसेका उल्काहरुलाई
समात्न दौडिन्थे
कहिले भाबी जीवनका
खाकाहरु कोर्न अघि बढ्थे
त्यस्तै अरु धेरै धेरै।
सगरमाथा झैँ चुलिएर
अघि बढेका मेरा पाईलाहरु
खेदोकका प्रत्येक
गल्लिहरु घरहरु अनि जंगलहरु हुदै
प्रारम्भ हुन्थे ।
ओगेम्बा डांडाको
उकालीमा सुईया गर्दै
बरको चौतारीमा बसी
चिसो पानी पिउदै
बुढीथुम्की डाँडाको
एकान्तमा फुलेकी
आस्थाको केन्द्र
सुनगाभालाई भेटाउन
आतुर हुन्थे
छात्ती भरि अंगाल्न अनि
बुकिफूलको आँगनीमा
रमाउन।झुम्न।हराउन
यसरी नै सधै भरिका लागी
ध्याउन्न र उद्दत थिए
मेरा रेखांकित गन्तव्यहरु ।
चैत्र मासमा फुलेका
गुरासहरुका रंगहरु माझ
सयौ ती भमरा र मौरीहरुसंग
तछाड मछाड गर्दै
मेरा ईच्छाहरु।अभिलाषाहरु
लडबडाउथे।हराउथे ।
नौलो परिवेशको
अविस्मरणीय संरचना भित्र
प्रतिबध्द थिए
मेरा सुन्दर संसारको
विश्वनीय जीवन आधारहरु ।
जीवन अघि बढ्दै थिए
परिचित अपरिचित संघारहरु भित्र
पाईलाहरु चलि रहेका थिए
परिस्थितिका जालोहरुले
घेर्दै थिए।बेर्दै थिए
पाइला रोकिएका थिएनन् ।
अफसोच जब परिबन्धको
झापडले थप्पड दिदा
बल्ल थाहा भयो
रेगिस्तानको बालुवाहरुसंग
मितेरी गाँसी रहेका
पराधिनका गुलामीमा
भिग मागी रहेका भेट्याए
मेरा ती महोत्वाकाँक्षाहरु
मेरा हिजोका ती स्पनिल संसारहरु
मेरा यथार्थ जीवनहरु
ती सबै
बालुवामा हराई रहेका थिए
मेरा यथार्थ त्यही भित्र।