हिजोसम्म कत्रो शान थियो
जहाँ त्यहीँ कत्रो मान थियो
केही गर्छ कि भन्ने जनतामा भान थियो
आज आएर यत्रो अपमान भयो ।
सत्ता र भत्ताको रस थियो
ठूलाठूला महलमा उठबस थियो
हाच्छिउँ आउँदा खोलापारि उफ्रने नस थियो
अन्तमा ढाडिएका पेटको ठसठस भयो ।
धुलामा खेल्दा खेल्दै आकाशमा उठाइएँ
थाङ्नासित खेल्दा खेल्दै मखमली तासमा रमाएँ
कहाँको म हेर्दा हेर्दै कहाँको भएँ
तर पनि आज पुनर्मुसिको भएँ ।
एक्कासि आज आकाशबाट भुइँमा पछारिएँ
मुटु फुट्यो, साह्रै भक्कानिएँ
अझै एकदुइ वर्ष आनन्दले बाँच्ने आश थियो
अब त सहरिया रमझमबाट मेरो बास गयो ।
हिजोसम्म बहालवाला, आजदेखि निवर्तमान
हिजोसम्म कत्रो हाईहाई, आजदेखि अपमान
गाउँ फिरिएन, सहरमै बसियो
आज घरको न घाटको भएर भुमरीमा फसियो ।
बानी लागेछ- नयाँ कुरामा रमाउने
रोगले ग्रस्त देशको हात खुट्टा समाउने
हेलिकोप्टर, हवाइजहाज सयर यान
हिजोको कुपोषित शरीर आज यमान ।
निवर्तमान वर्तमानमा कसरी जिउने
भविष्यमा निवर्तमान कसरी सुरक्षित हुने
म निवर्तमानलाई बिउँताउनुपर्छ वर्तमानमा
खाईपाई आएको जागिर बचाइदिनुपर्छ वर्तमानमा ।
म फेरि एकचोटि पुनर्जीवित हुन चाहन्छु
आजको ढाक्रे म भोलि पुनर्बहाल हुन चाहन्छु
जिब्राको स्वाद, मुखको रस
देशको चोक्टा, सिकारी बिलो ।