धेरै पल्ट सुकिला मुकिलाको कुरा चल्यो
साँच्चै यो के भएको यार
मानिस सफा छन्,
शहर फोहर छ
(प्रश्न गर्नेलाई प्रतिप्रश्न हाजिर छ -
“फोहोरी भई बस्न कसलाई रहर छ ?”)
बाटा त साँगुरा थिए नै
तीन चौथाइं ढाकेर बसेको
यो दुर्गन्धको पहाड
टाढा टाढासम्म गन्हाएर
धर्तीमै नर्क भेटाउँछ
अत्तालिंदै वल्तिर पल्तिर हिंडेपनि
एकपल्ट त अबश्य टेकाउँछ,
तैपनि जोसुकैलाई सोध्नोस् -
किन यस्तो भयो ?
निस्सन्देह, सिंहदरबारतिर देखाउंछ
यो शहरमा
घरघरै विदुषी र विचारकहरु छन्
टोलटोलै समाजसेवी र सुधारकहरु छन्
ठुल्ठुला सभा, गोष्ठी संचालकहरु छन्
प्राज्ञ, पठित, पत्रकार, प्रचारकहरु छन्
ओठ चल्छ सबैको, आँट चल्दैन
सरकार निकम्मा छ, कसलाई थाहा छैन ?
उसैको उछितो नगरी दिन ढल्दैन
यार यो के भएको
मानिस सफा छन्
फोहर छ नदी
समाधिमा ढल्ने, जल्ने ठाउँ बाग्मती
पबित्र तीर्थस्थलको हरे यो दुर्गति !