सत्ययुगमा पनि थिएँ म
त्रेता, द्वापर युगमा पनि खडै थिएँ
कलियुगको उषाकालमा, सिद्धार्थको शिरमाथि
आज जस्तै जडै थिएँ
मैले त्यसयुगमा पनि
खडा हुनु थियो
अग्लिएर बडा हुनु थियो
जो थाक्थे यात्राले वा
सूर्यको प्रचण्ड रापले
तिनलार्इ सुस्ताउन ‑ सियाँलको
पिउँ लाग्ने घडा हुनु थियो
कतै एक्लै र कतै वरसँग
कतै जंगलमा र कतै घरसँग
उसैगरी खडा छु म
मानिसहरू उसैगरी निहुरिन्छन् मेरो फेदमा
र प्रत्येक शनिवार
प्रेममा स्वच्छन्द छु म
चराहरूका लागि पनि छु म
तिनका बचेराहरूका लागि पनि छु म
एक्लै भएर पनि म उभिएकै छु
वर अनि वृक्षहरूसँग पनि उभिएकै छु
पहाडी भञ्ज्यांगमा होस्
समथर तरार्इमा होस्
बलौटे माटो वा चिम्ट्याइलो
घरको छाना वा ढुंगै होस्
म जन्मिन्छु जताततै
म बीज हुँ सृष्टिको
म स्रोत पनि हुँ वृष्टिको
पीपल हुँ म
बाँधिँदा प्रेमले वरसँग
वरपीपल हुन्छु म
हो कविहहरूले भनेजस्तै
ढुंगालार्इ पनि फोरेर उम्रने पीपल हुँ म
सृष्टिलार्इ थामिरहने वरपीपल हुँ म ।