अगेनामा मात्र चिसो खरानी देखिन्छ
बालेर निभाईएका दाउराका ठुटा , केहि टुक्रा गोल
खाली डिक्ची देखाउनको लागि
बसालिएको हुनुपर्छ
सलाईको बट्टा अगेना छेऊ मै मिल्किएको छ
(त्यो पनि शायद खाली हुनसक्छ )
चामलको डिब्बा एकातिर
दालको डिब्बा अर्कोतिर
बेवारिसे बम झैं फालिएको छ
र , लंगोटी सम्मले पनि नभ्याएका
लालाबालाहरु
उमेर भन्दा पनि धेरै अघि चाउरी परेकी
मनमायाको निस्तेज जस्तै आँखा ,
धन बहादुरको बाटो कुरी बसेको छ ।
धन बहादुर ,
जेठको आगोमा झोसिएर
रिक्शाको पांग्रासंगै दौडिरहेछ
भोकलाई पराजित गर्न
लाजलाई घुम्टो हालिदिन
र उसलाई थाहाछ .
दिनभरिको अथक प्रयासमा
ऊ भोकलाई पूर्णरूपमा परास्त गर्न सक्दैन
उसका लालाबलाहरुको आंग
निश्चित रूपमा ढाक्न सक्दैन
तर पनि ऊ युद्धरत छ
प्रमूख शत्रुलाई पराजित गर्न ।
अन्धकार झन् ब्याप्त हुन् थाल्छ
थकित मन् भित्रै पनि ,
दिनभरिको मेहेनतसंग साटेर पाएको
केहि मुट्ठी अन्न पोकोपारी
घरतिर हिद्द्छ ऊ !
सँधै झैं,
आज पनि परास्त गर्न नसकेको
पीडाबोधको बोझ मनभरी
हीनताबोधको आँसु परेलीमा थाम्दै
आफ्नो विशालकाय त्यो प्रमूख शत्रुलाई
सम्झिन्दै सम्झिन्दै ,
बाटोमा समाचार गुन्जिरहेको थियो
कुन्नि के को हो , म्याद थपेको कुरा !
तर ऊ भने आफ्नो सुरमा जाँदै थियो
पोको पारेको भोक सुम्सुम्याउन्दै थियो !