त्यो दिन,आकाश खुल्ला थियो
धर्ती चकमन्न थियो
हावा सुस्त सुस्त बहदैथ्यो
प्रक्रिती बिछट्ट रङ्ग भर्दैथी
मैले चिप्लेढुङ्गामा खुट्टा टेकी
पारी गाउँ हेर्दा
वारी गाउँ हेर्दा
तल बस्ती नियाल्दा
सालिम्मोका झुप्राहरु
चित्कारका थुप्राहरुमा
फुस्स फुस्स हावामा कावा खान्थे,
स्वाभिमानले सोभित हुनुको बादला
झोलिएका स्तन बोकी
एक लस्कर आमाहरु
डडेको झुप्रा हेर्दै निधार ठोक्दथे
सार्दा सार्दा च्यातिएको लुङ्गी
खोल्दा खोल्दा फाटेको सुरुवाल
बिर्यलेपतिएको त्यो रातो लबेदा
या भनौ
फिर्तीको लागि बिन्ती गर्ने
सयौ दिदीहरु
लाखौं बहिनीहरु !
काजोल र मैनाहरु
!बस्तिभरी,
गाउँभरी
कसैको बिरुद्धमा चिच्याउथे कराउँथे
मुक्ती! मुक्ती !!
चिप्लेढुङगाबाट बस्ती पुगी
फर्केका मेरा नयन
मेरा आँखा
जिर्लिम्म
जिर्लिम्म
आशुँ झारी क्षितिज नियाल्दा
रातो रबी मलाई अत्याउथ्यो
अनी प्रश्न गर्दथ्यो
'खोइ त तिम्रो स्वाभिमान ?
'हतासलाई साहस र बहादुरीमा बदली
त्यही दिन कटक्क दाँत किटेर
त्यही दिन बस्तीका सपना बोकेर
क्रान्तिमा होमिएको हुँ
युद्धमा धकेलिएको हुँ
मोर्चाबन्दी भएको हुँ ।
देशले युद्ध माग्यो युद्ध दिएँ
रगत माग्यो रगत दिएँ
तागत माग्यो तागत दिएँ
साँघु र सल्लेरी लडेँ
हतियार बोकेँ, दुस्मन ठोकेँ
बैंङ्कर खनेँ
प्रत्येकक घर र दैला दैलामा
स्वाभिमान र अस्तित्वका लागि
रगतका छिट्टाले आफ्नो उपस्थीति अंकित गरे
मेरो भुमिको लागि
त्यो बिर्य लतपतिएको लबेदा
सुरुवाल लुङ्गी
फाटेको पटुकिको बादला
सुन्दर र नयाँ, चौबन्दी र फरियाको लागि
फलस्वरुप!
बिजयको लाल झण्डाले
फर्फराएको बायु बस्तीतिर पुग्दा
क्रान्तिको सारगर्वले हर्सित
ती आमाहरु
ती बहिनीहरु
ती दिदीहरु
ती बस्तीहरु
अनी
सिङ्गो देश
मेरो घाइते शरीरलाई
स्वागत गर्न आतुर थिए
माफ गर है आमा !
माफ गर है दिदी !
माफ गर है बहिनी !
माफ गर है मेरो बस्ती !
उत्साह र बिजयको मेरो स्वाभिमान
एक खुट्टे बैशाखी
र
चार लाखको चेकमा
रुपान्तरित हुँदा
तिमी सम्म आइपुग्छु कि पुग्दिन
यद्धपी
मेरो स्वाभिमान फेरी सोच्दैछ
एक खुट्टे बैशाखी
पुरै बैसाखिमा परिणत गरुँ कि
बाँकी एक खुट्टा
अर्को क्रान्तिमा गुमाउँ कि
चुनौती !
चेकमा दस्तखत गराउनेलाई !
स्वाभिमान रुपान्तरित गराउनेलाई !