तिम्रा सुन्दर आँखाहरु
मेरो सपनाको आकासमा
उडिरहेछन्-
रंगीन बेलुन बनेर ।
आज इन्द्रेणी परेको दिन
चिम्लिएर समय
म चुम्वन गरेको थिएँ,तिमीलाई-
मायाको नीलो मुटुमा ।
करुणाले आज तिमी
आँसु बगेकी छौ
ठोक्किएर मेरो- सम्झनाको पहाडमा
सिमसिम झरी परेकी छौ ।
आज हिमाल हासेको दिन,
बोकेर एक मुठी- प्रेमिल रंग
रंग्याएको थिएँ म-
अचिन्त्य तिम्रो सिन्दुरभरि
सौन्दर्यले आज तिमी
रंग बाँचेकी छौ
तिम्रा र मेरा मायावी,
सम्झना बनेर पहाडभरि
आज, यो साँझ
भरिलो,
जून उदाएको प्रहर ।
पृथ्वीजस्ता गोला
तिम्रा आँखा, चम्किला ताराहरु
कता कता सीमान्त
अभिशप्त मुस्ताङ झैँ
अस्तित्व दुखिरहेछन्-
तिम्रा अनि मेरा
सम्झनाका बेलुनहरु
त्यो कालो-कालो, भयावह, रंगीन
स्वप्निल अन्तरिक्षमा ।