हिमाल झै सेताम्मे भै
अग्लिएर ठडिएको शिर
निधारमा तेर्सिएको समयका रेखाहरु
कम्पित हातहरु
थर्थरिएका खुट्टाहरु टेक्दै
चौबन्दीको तुना गाँठो पार्दै
पटुकीलाई अझ कस्दै
खुईया सुस्केरा हाल्दै
एक नजर बेसीं झार्छिन्
अनि पिढींमा बसि
कल्पनामा तङ्ग्रिन्छिन्
एक दशकै बितेछ क्यारे
धमिलो छाप आखाँमा उभारछिन्
जुङ्गाको रेखी भर्खदै बस्दा
छोराको शिरमा हात राखि
सप्कोले आँशु पुछ्दै
बिदा गरेकी मुटुको टुक्रा
आज अगांल्न लालायित
आमाको मन
एक भारी बेदनाले थिचिएको छ
यद्दपी छोराको मुहार हेर्न
प्रतिक्षित नयन अझै थाकेको छैन
आशाको त्यान्द्रोमा जेलिदैं
भित्र बाहिर गर्दैछिन्
अनि हर साँझ मास्टरकी आमा झै
हर्के आउने झिनो आशामा
मूल ढोका खुल्लै राख्छिन्
बेचैन मन
खहरे झै खङ्ग्रङ सुकेको शरीरलाई
त्यो ठाडो उकालो उकाल्छिन्
फूलपाती लिई देउराली भाक्न
अनि रङगाउँछिन् ढुङ्गालाई
केवल एक झल्को पाउन
जब असह्य हुन्छिन्
अनि गड्गडाउँछिन्
बादल झरि बन्छिन्
फेरि पलभरमै
शान्त तलाउ झै स्थिर हुन्छिन्
गाम्भिर्यताको चरमचुली छुन्छिन्
विवशताको हुरिमा
क्षतविक्षत मनलाई जसोतसो
गाँस्छिन्
मात्र उसको प्रतिक्षाको लागि
जसले सायद बिर्सिसक्यो
आमा
र छोरा हुनुको कर्तव्य