‘किरण, ए किरण ! उठ खाना तयार भयो ! अफिस जान ढिला भएन भन्या आज ? किन ओछ्यानमै हो यति बेलासम्म ?’ श्रीमतीको बोलावट सुनेको नसुन्यै गरी किरण फेरि कोल्टे फिर्यो ।
‘सुनेन न कि क्या हो’ भन्दै श्रीमतीले ओछ्यानमै आई ब्यूँझाउने कोसिस गरिन् । आखिर निश्चित समयमै उठ्ने बानी परिसकेको किरण नियमित समयमै ब्यूँझिसकेको थियो ।
श्रीमतीको एकोहोरो प्रश्नको बाढी खेप्न नसकी उठ्ने तरखरमा रहेको किरणको कानमै आएर श्रीमती कराइन्, ‘होइन किन नउठेको भन्या ? अफिस जानु पर्दैन ?’ असजिलो मान्दै किरण उठ्यो, ‘अँ अँ, आज मलाई अफिस जान मन छैन ।’
बिसन्चो पनि भएको होइन, किन बूढाले ‘अफिस जाने मन छैन’ भने ? सोचमा डुबेकी श्रीमतीले फेरि सोधिन्— ‘के भो ? हाकिमसित टसमस पर्यो कि ? फेरि सरुवा भयो कि क्या हो कतै ?’
‘होइन होइन, त्यस्तो केही होइन । जागिर खानै मन छैन, पुग्यो मलाई, जाऊ खाना पस्क, म आएँ’ किरणको जबाफ सुनेर श्रीमती केही नबोली भान्सातिर लागिन् ।
किरणको मन अगिपछिझैँ खुलस्त थिएन आज । खाना खाइसकेर ‘म एकछिन पल्टिन्छु, मलाई डिस्टर्ब नगर्नू’ भन्दै किरण चोटामा उक्लियो । घरधन्दा सिद्ध्याएर श्रीमती कोठामा पसिन् र फेरि उही प्रश्न दोहोर्याइन्— ‘किन नगएको अफिस ? मलाई भत्रु हुँदैन ?’ उनलाई नोकरी छोडिसकेको अनि छोड्नाको कारण बताएर सम्झाउन सकिनेमा किरण आश्वस्त थिएन । जबाफ टाल्न नुहाउने बहानामा बाथरुमतिर पस्यो । श्रीमती छरपस्ट भएका बिछ्यौना मिलाउन थालिन् । नुहाइसकेर ‘एकछिन माथि गाउँतिर घुमेर आउँछु’ भन्दै किरण थोत्रो भटभटे लिएर निस्कियो ।
किरणकी श्रीमती गम्न थालिन्- ‘के भयो यिनलाई, किन अफिस गएनन् ?’ सोचमग्न श्रीमती कपडा मिलाउँदै थिइन्, अचानक उनको हात किरणको ओभर कोटको खल्तीमा पुग्यो । कहिलेकाहीँ किरणले डायरीमा केही टिपेको देखे पनि के लेख्छन् भन्ने चासो नराखेकी श्रीमतीले किन हो आज भने पाना पल्टाउन थालिन् । अचानक उनका आँखा एउटा पानामा अडिए ।
२०४५ माघ ८ गते ‘रामेछापको चोप्राङ इलाका प्रहरी कार्यालयको इन्चार्ज हुँदाको एउटा प्रसङ्ग-
“बिहानको चिसो सिरेटोबाट बच्न घाम ताप्दै अफिसको काम गर्दै थिएँ । अचानक एउटी २२—२३ वर्षकी युवती अन्दाजी १—२ वर्षको एउटा नाङ्गो बच्चा बोकेर मेरो अगाडि ‘सर नमस्कार’ भन्दै आइपुगिन् । एकसरो ब्लाउज र पटुकाले अड्काएको पेटिकोट अनि नाङ्गो खुट्टा— माघको ठिहीमा नाङ्गो बच्चा ! निकै टिठलाग्दो दृश्य थियो त्यो मेरा लागि ।