आमालाई क्यान्सर भएछ।
खानै छोड्नुभो। ठाडै सुकेर जानुभो।
सबैलाई ख्वाइसकेर उब्रियो भने खानुहुन्थ्यो। उब्रेन भने 'आज मेरो बर्त' भन्नुहुन्थ्यो। आइतबार सूर्यको। सोमबार शिवको। मंगलबार गणेशको। हरेक बारका इष्टदेव छन्। तेसमाथि कैले एकादशी। कैले प्रदोष। भँडारमा सर्दाम र भान्सामा खाने नभएपछि आमाको बर्त हुन्थ्यो। भन्नुहुन्थ्यो, 'अर्को जुनी यस्तो नहोस्।'
म भन्थेँ, 'आमा, नयाँ नेपालमा त्यस्तो हुँदैन।'
'भो तेरो नयाँ नेपाल आयो नापेर! मेरो अर्को जुनीमा आउँछ!'
'यै जुनीमा नआए म तपैंको छोरै हुइनँ। आमा, नयाँ नेपाल तपैंको यै जुनीमा आउँछ। नयाँ नेपाल आएपछि तपाईंको कायाकल्प हुन्छ।'
हेर्दाहेर्दै आमा पटक्कै नखाने हुनुभो। गाँस थिएन। बास थिएन। उपचार थिएन।
'आमा बोल्नुस् न!'
आमा बोल्नुहुन्न।
'बोल्नुस् न आमा बोल्नुस्।'
आमा सकीनसकी बोल्नुभो, 'म बोलेर के, नबोलेर के? मेरो कुरा कल्ले सुन्छ र! मैले किन बिनसित्ति बोली खेर फाल्नु?'