एकाबिहानै शेरे कागजको कपमा कफि पिउँदै कल्पनाको सागरमा डुबुल्की मार्दैछ ।। वरिपरी गगनचुम्बी महलहरु (टावरहरु) बिचको ६५ तले टावरको ग्राउण्ड फ्लोरमा lllt gulf कम्पनीको एउटा क्यापेट एरियामा उ सोच मग्न छ। कहिले कफीको सुर्की लिन्छ कहिले निक्कै बेर सोचमा डुबिरहन्छ । शायद उ हिजो हिडेको बाटोहरु अनि हिंड्दै जाँदा पुगेका दोबाटो, चौबाटो, घुम्ती र कुइनेटोमा ठोकिएका पलहरुले झस्किदै छ र त क्षण क्षणमै सोच भंङ्ग गर्दै त्यसको झोकमा कफीको सुर्की कसेर तान्छ। नझस्किनु पनि कसरि ? घरदेश छाडेर प्रदशको यो मरुभूमि, बालुवाको खानीमा पाइला टेकेको पनि १० औं वर्षा बिती सकेछ । आएदेखि ३ वर्षमा एकपटक मात्र घर फर्केको त्यसपछि नफर्केको पनि ७ वर्ष बितिसकेको थियो । तामाको मुना जस्ती छोरीको रुप रंग समेत देख्न पाएको छैन, उसो त मन्दिरको मुर्ति झैं देखिने आफ्नो जिबन संगिनी बिमलीलाई नदेखको पनि ७ बर्ष नै भैसक्यो । हिजो १० औं बर्ष अगाडी काठमाण्डौंको सरकारी कलेजमा समेत पढ्न नसक्दा र त्यो भन्दा बढी बिमलीको कुरा टार्न नसक्दा तिनै बिमलीको कानको टप बेचेर शेरे पासपोर्ट बनाएर कतार भासिएको थियो । उसको जीवनसंघर्ष पनि आफ्नै किसिमको छ।धेरै समयसम्म म्यानपावर धाउँदा मात्रै शेरेले अरब मुलुक कतारमा पाइला टेक्ने मौका पाउन लागेको थियो ।तर त्यसलाई शेरेले झिनो आशाको रुपमा मात्रै लिएको थियो,किन कि उसको त्यस्तो आशाको फूलहरु धेरै पटक नै निमोठिएको थियो । उसो त बर्षौ दिन मेला पात गरेर भएपनि छोरालाई राम्रो र असल मान्छे बनाउने शेरेको बाबुआमाको रहरहरु, आकांक्षाहरु नतुहिएको कहाँ हो र? सदरमुकाम देखि २ दिन पैदल यात्रा पछी पुग्ने मकवानपुरको त्यो शिर धादिंग जिल्लाको आँगन खैराङ्ग भन्ने गाउँमा जन्मी हुर्केको थियो शेरे। त्यो पनि निम्न वर्गिय परिवारमा ।त्यो धादिंगको फेदी हुँदै मकवानपुरको धेरै गाविसहरु छिचोल्दै मनहरी पुलको टांगमुनि बाट राप्ती नदि भेट्न निस्केका गोरांग्दी खोलाको तिरमा थियो शेरेको घर । त्यहि गोरंग्दी खोलामा दुवाली थुनी माछा मारी बेची खाइ हुर्केको थियो शेरे । शेरे नाङ्गै भुतुङ्गै बनेर खेल्ने गर्थ्यो सानोमा त्यहि खोलामा ।अहिले त्यो खोलाले निक्कै रुप फेरी सकेको छ । धेरै फलामे पुलको गहना लगाई सक्यो र धेरै भूभाग ओगटेर आफ्नो अधिपत्य जमाउँदैछ । बर्षायाममा बैश चल्दा धेरै मान्छे पनि बगाईसक्यो त्यो खोलाले तर शेरेको उमेरले धेरै बसन्तहरु पार गरे पनि दु:ख र पीडाले मात्रै बिकसित रुप लियो जसले गर्दा शेरे आज आएर एक कतारिको घरायसी ड्राईभरको रुपमा बस्न बाध्य छ । अहिले आएर एकातिर यति धेरै गरिबी हुनुको पीडाले आफ्नै जिबन प्रति घृणा गर्दैछ त अर्कोतिर जिबनमा आएको मौकाको फाइदा उठाउन नसक्दा पश्चतापको भेलमा बग्दैछ । १० बर्ष अघि कालिमाटी नजिकै काँचो इँटाको घरमा भाडामा बस्दा सानुबाबुचा घरबेटीको किच किच खप्न नसकेर रुदै गर्दा बिमलीले भाई सरह मानेर सान्त्वनाका शब्दहरु प्रकट गर्दां राहत महशुस गरेको थियो । उसैको सहानुभूति र हौसलाले नै शेरेले आइ. ए. पास गरेको थियो ।बिहान बेलुका सडकमा तरकारी फिजाएर बस्ने ति बिमलीले कति दिन सम्म सहानुभूति र सहयोग गरुन ।एकदिन बिमलीले मुखै खोलेर भनेकी थिइन् "बाबु शेरे देशमा बसी खाइ सक्नु छैन, त्यस माथि तिमी केहि काम नि गर्दैनौ । बरु बिरे,मंगले जसरी विदेश तिर लाग ।परेको ऋण म काट्छु बोक्छु " भनेर । अरु विदेश तिर लागेको देख्दा र विदेशबाट भनेको जस्तो tv कम्प्युटर ल्याएको र सुकिला मुकिला भएर आएको देख्दा शेरेलाई पनि कता कता विदेश गैहालुँ जस्तो लागेकै थियो ।