‘किरण, ए किरण ! उठ खाना तयार भयो ! अफिस जान ढिला भएन भन्या आज ? किन ओछ्यानमै हो यति बेलासम्म ?’ श्रीमतीको बोलावट सुनेको नसुन्यै गरी किरण फेरि कोल्टे फिर्यो ।
‘सुनेन न कि क्या हो’ भन्दै श्रीमतीले ओछ्यानमै आई ब्यूँझाउने कोसिस गरिन् । आखिर निश्चित समयमै उठ्ने बानी परिसकेको किरण नियमित समयमै ब्यूँझिसकेको थियो ।
श्रीमतीको एकोहोरो प्रश्नको बाढी खेप्न नसकी उठ्ने तरखरमा रहेको किरणको कानमै आएर श्रीमती कराइन्, ‘होइन किन नउठेको भन्या ? अफिस जानु पर्दैन ?’ असजिलो मान्दै किरण उठ्यो, ‘अँ अँ, आज मलाई अफिस जान मन छैन ।’
बिसन्चो पनि भएको होइन, किन बूढाले ‘अफिस जाने मन छैन’ भने ? सोचमा डुबेकी श्रीमतीले फेरि सोधिन्— ‘के भो ? हाकिमसित टसमस पर्यो कि ? फेरि सरुवा भयो कि क्या हो कतै ?’
‘होइन होइन, त्यस्तो केही होइन । जागिर खानै मन छैन, पुग्यो मलाई, जाऊ खाना पस्क, म आएँ’ किरणको जबाफ सुनेर श्रीमती केही नबोली भान्सातिर लागिन् ।
किरणको मन अगिपछिझैँ खुलस्त थिएन आज । खाना खाइसकेर ‘म एकछिन पल्टिन्छु, मलाई डिस्टर्ब नगर्नू’ भन्दै किरण चोटामा उक्लियो । घरधन्दा सिद्ध्याएर श्रीमती कोठामा पसिन् र फेरि उही प्रश्न दोहोर्याइन्— ‘किन नगएको अफिस ? मलाई भत्रु हुँदैन ?’ उनलाई नोकरी छोडिसकेको अनि छोड्नाको कारण बताएर सम्झाउन सकिनेमा किरण आश्वस्त थिएन । जबाफ टाल्न नुहाउने बहानामा बाथरुमतिर पस्यो । श्रीमती छरपस्ट भएका बिछ्यौना मिलाउन थालिन् । नुहाइसकेर ‘एकछिन माथि गाउँतिर घुमेर आउँछु’ भन्दै किरण थोत्रो भटभटे लिएर निस्कियो ।
किरणकी श्रीमती गम्न थालिन्- ‘के भयो यिनलाई, किन अफिस गएनन् ?’ सोचमग्न श्रीमती कपडा मिलाउँदै थिइन्, अचानक उनको हात किरणको ओभर कोटको खल्तीमा पुग्यो । कहिलेकाहीँ किरणले डायरीमा केही टिपेको देखे पनि के लेख्छन् भन्ने चासो नराखेकी श्रीमतीले किन हो आज भने पाना पल्टाउन थालिन् । अचानक उनका आँखा एउटा पानामा अडिए ।
२०४५ माघ ८ गते ‘रामेछापको चोप्राङ इलाका प्रहरी कार्यालयको इन्चार्ज हुँदाको एउटा प्रसङ्ग-
“बिहानको चिसो सिरेटोबाट बच्न घाम ताप्दै अफिसको काम गर्दै थिएँ । अचानक एउटी २२—२३ वर्षकी युवती अन्दाजी १—२ वर्षको एउटा नाङ्गो बच्चा बोकेर मेरो अगाडि ‘सर नमस्कार’ भन्दै आइपुगिन् । एकसरो ब्लाउज र पटुकाले अड्काएको पेटिकोट अनि नाङ्गो खुट्टा— माघको ठिहीमा नाङ्गो बच्चा ! निकै टिठलाग्दो दृश्य थियो त्यो मेरा लागि ।
‘भन्नु्स् बैनी, के पर्यो तपाईंलाई ?’ मैले यति मात्र के भनेको थिएँ, उनी गाउँले सुलभ शब्दमा भत्र थालिन्, ‘सर ! मेरो श्रीमान् सहर गएको वर्षदिन भइसक्यो, केही खबर छैन । हिजो राति मेरी सासूले मलाई घाँस नकाटेको भन्दै घरबाटै निकालिन् । रातभर छिमेकीको गोठमा बसेँ । मेरो माइतीमा कोही पनि छैन । म यो नाबालक बोकेर कहाँ जाऊँ सर ? सासूलाई सम्झाइदिनुपर्यो ।’
एकैसासमा सिद्ध्याइन् उनले उजुरी । मैले हबलदार र केही सिपाहीलाई उनको साथ गएर उनले भनेबमोजिम सासूलाई सम्झाउन आदेश मात्र के दिँदै थिएँ, उनले पटुकामा बटारेर राखेको एक सयको नोट सीधा पार्दै हात मतिर बढाइन् । सेवाबापत मूल्य चुक्ता गर्दै छिन् उनी भन्ने बुझ्न मलाई गाह्रो परेन । मैले जीवनमै यस्तो नदेखेको र नसोचेकै कारण म अक्कनबक्क भएँ, गला अवरुद्ध भयो, शरीरका रौँ ठाडा भए, आँखासमेत टिलपिलाए । म प्रहरी हुँ कि मानवरूपी दानव ?
मेरो मौनता देखेर उनले हात नजिक ल्याउँदै भनिन्, ‘सर, मसित त यति मात्र छ ।’ मलाई झन् सासै रोकिएजस्तो भयो । साहस बटुलेर भनेँ— ‘बहिनी, प्रहरीलाई कामका लागि पैसा दिनु पर्दैन, हामीलाई सरकारले तलब र रासन दिएर यहाँ पठाएको छ ।’ उनले अविश्वासपूर्वक सोधिन्— सर, प्रहरी जान्छ त ?’ हिँड्न तयार भएका प्रहरी देखाउँदै भनेँ— ‘उः हेर्नुस्, उनीहरू तयार भइसके ।’ मैले विश्वास दिलाएर उनलाई प्रहरीसँगै पठाएँ । मभन्दा अगाडिका इन्चार्जहरूले जेजस्तो मुद्दा आए पनि निवेदनसाथ सय रुपियाँ लिने र बाटोमा प्रहरीलाई खाना खुवाउनुपर्ने चलन राखेका रहेछन् । ‘यस्तो जनताले घृणा गर्ने नोकरी के खानु ?’ आजै गएर राजीनामा दिउँजस्तो लागेको छ मनमा !”
श्रीमतीलाई निक्कै चाख लाग्यो किरणको डायरी । उनले फेरि अर्को पाना पल्टाइन् । रामेछाप, २०४५ फागुण (गते लेखिएको थिएन)-
“हिजोदेखि एस.एल.सी. परीक्षा सुरु भयो । आफ्नै इलाका भएकाले म पकरबास परीक्षा केन्द्रमा सुरक्षा व्यवस्था मिलाउन खटिएको थिएँ । गत वर्षसम्म त्यहाँ परीक्षार्थीलाई चिट उपलब्ध गराएबापत प्रत्येक चिटका लागि ५१ रुपियाँ लिएर प्रहरीले नै सहयोग गरेको रहेछ । मलाई पनि अभिभावक र केही शिक्षकले सो प्रस्ताव राखे । त्यस्तो गैह्रकानुनी काम मेरो सोचबाहिरको थियो । अनियमितता रोकी नियमअनुसार परीक्षा सञ्चालन गर्न र परीक्षा केन्द्रको ५१ मिटरभित्र प्रहरीलगायत कोही पनि जान नपाउने भनी डोरीले घेराबन्दी गरेर शान्त वातावरणमा परीक्षा सञ्चालन गराएँ । तत्कालै जि.प्र.का. बाट आ.वा. आयो— ‘परीक्षाको जिम्मा अ.स.इ. लाई दिई कार्यालय फर्कने !’ इमानदारीसाथ काम गरेको प्रतिफल हो यो । म फर्कने बेलामा अ.स.इ. सित विद्यार्थी र अभिभावक झुम्मिएका थिए । मेरो मन खित्र भयो— हाम्रो देशको कस्तो समाज नियम–कानुनको खिल्ली उडाउने ? मेरो भन्दा पनि बर्दीको बेइज्जत देखेर अचम्म लाग्यो । तालिममा ‘सत्य सेवा सुरक्षा’ को झूटो पाठ किन सिकाउँछन् प्रहरीका नीतिनिर्माताहरू ? मेरो मनमा प्रश्नैप्रश्न छन् ।”
अर्को पाना पल्टाउने रहर लाग्यो उनलाई । २०४८ मार्ग ५ गते-
“एकाबिहानै पाँच-सात जनाको एउटा समूह इलाका प्रहरी कार्यालय (बालाजु) मा आई गुनासो गर्न थाल्यो- ‘सर, यो कस्तो अत्यचार हो ? रातारात मेरो जग्गाको पर्खाल भत्काएर बाटो बनाएछन् ।’
उनीहरूको उजुरी र कागजात हेर्दा अन्याय नै भएको देखिन्छ, आफ्नो हक नलाग्ने अर्काको पर्खाल भत्काएर पछाडिपट्टिका जग्गावालाले बाटो निकालेका रहेछन् ।
भत्काउनेमध्येको नाइकेलाई प्रहरी कार्यालयमा बोलाउन पठाएको त ‘म को हुँ चिन्याछस् ? वकिल हुँ म वकिल, आउँदिन भनिदे जा तेरो इन्चार्जलाई’ भनेर प्रहरीलाई नै हप्काएर पठाएछ । त्यो सुनेर म स्वयम् गएर अनुरोध गरेँ— अफिसमा हिँड्नुस्, कुरो के हो बुझ्नुपर्यो । उहाँहरूको रिपोर्ट परेको छ । ‘म तेरो नोकरी खाइदिन्छु, मलाई चिनेको छैनस् ?’ पो भन्छ बा सीधै !
रिपोर्ट गर्नेहरू पनि मसँगै थिए । मैले पनि दुई चड्कन दिएर कठालोमा समाती तानेर ल्याएँ । मलाई तथानाम गाली गर्न थालेकाले बाथरुममा लगेर थुनिदिएँ । एकैछिनमा डी.आई.जी. प्रधानको आदेश आयो फोनमा— ‘निवेदकलाई हनुमान् ढोका पठाइदेऊ र वकिललाई तुरुन्त छोडिदेऊ !’
म के गर्न सक्थेँ र माथिको आदेशको अगाडि तर मेरो व्यक्तिगत स्वाभिमान मात्र होइन, प्रहरीको बर्दीमाथिको अवहेलना र चुनौती थियो त्यो । वरिपरि झुम्मिएका जनसाधारणसमक्ष लज्जित भई आपैmले आपैmलाई धिक्कारेँ— किन खाइरहेको छु यस्तो जागिर, जो बर्दीको मान राख्न सक्दैन । यसरी आफ्नो स्वाभिमान, कर्तव्यपरायणता, इमानदारीको मूल्याङ्कन नहुने हो भने आत्मबल गिराएर अपराधी प्रवृत्तिलाई स्यालुट मार्दै नोकरी गर्नुको के अर्थ ?”
अझै पल्टाउँदै गइन् उनी ।
अन्तिम पानातिर आँखा दौडाइन्, २०४९ पुस २१-
“बिहान ८.०० बजे नगर प्रहरीका बोहोराले उपत्यकाभित्रका सबै एकाइ इन्चार्जहरूलाई आपत्कालीन मिटिङ बोलाउनुभएको थियो । मिटिङको कारण म रहेछु- त्यहाँ पुगेपछि मात्र थाहा भयो । उहाँलाई सर्वमान्यका छोरा उपमान्यजीले ‘बालाजु इलाका प्रहरी कार्यालयको प्रमुखलाई तुरुन्त हटाउनू’ भन्ने अनुरोध गर्नुभयो रे ! उहाँले ‘राम्रो काम गर्ने इमानदार मानिस हो’ भन्दा ‘जस्तोसुकै होस्, मैले भनेको त्यति काम पनि नगर्ने ?’ भनी प्रेस्टिज इस्यु गर्नुभयो रे ! बोहोराले भत्रुभयो— कहिलेकाहीँ राम्रो काम गरे पनि जस पाउने तरिकाले गर्नुपर्छ । इमानदारी मात्र सबै थोक होइन, परिस्थिति बुझेर काम गर्न सक्नुपर्छ’ भन्दै त्यो ठाउँबाहेक कहाँ जाने, रोजेको ठाउँमा सरुवा गरिदिन विनोद गुरुङलाई आदेश दिनुभयो । मैले तत्काल प्रतिवाद गर्दै भनेँ, ‘यदि म सही र इमानदार छु भने मेरो र प्रहरीको आत्मबलका लागि त्यहीँ कायम होस्, होइन, म गलत रहेछु भने कारबाही होस् ।’ बोहोराले नरम शब्दमा भत्रुभयो, ‘तिम्रो लागि के म उपमान्यजीसित नराम्रो बनूँ ?’
मलाई २४ घण्टे लाग्यो । हनुमान् ढोकामा काज राखियो । तर कृष्ण बस्नेत र नरेन्द्रराज शर्माबाट २४ घण्टे लगाउनुपर्ने वास्तविक कारण बुझेपछि मैले थाहा पाएँ- मैले नागार्जुन डाँडाबाट झरेको पानी ट्याङ्करमा सङ्कलन गरी लैजाने चालकहरूसित स्थानीय केही युवाहरूले जबरजस्ती रकम असुलेर दुःख दिइराखेका छन् भत्रे उजुरीको आधारमा सम्बन्धित युवालाई बोलाएर सोधेको थिएँ, ‘तपाईंहरूले सार्वजनिक स्रोतलाई व्यक्तिगत प्रयोजनका लागि पैसा उठाउने अनुमति लिनुभएको छ ? सी.डी.ओ. कार्यालयबाट अनुमति लिनु पर्दैन ?’ उनीहरूले भने, ‘सर, तपाईं आफ्नो ठाउँमा बस्नोस्, तपाईं चित्रुहुत्र हामीलाई, हाम्रो तागतलाई’ भन्दै उल्टो धम्की दिए । मैले ‘यो गैह्रकानुनी काम भएकाले अनुमति लिएर मात्र गर्नुस्’ भनेर प्रहरी खटाई पैसा उठाउने काम रोकिदिएको थिएँ । उनीहरू ‘हेरौँला’ भन्दै गएका थिए । सीधै उपमान्यको घर पुगेछन् र ‘यो इन्चार्ज कम्युनिस्ट समर्थक हो, हामीलाई सहयोग गर्दैन, धम्क्याउँछ’ आदि भनेछन् । यसै कारण उपमान्यले पनि शक्तिशाली बोहोराजीलाई धम्क्याएर सरुवा गराइदिएका रहेछन् ।
अब म नोकरी एक दुई तीन गर्दिनँ भन्ने सङ्कल्प गरेँ ।”
नभन्दै किरण ६ महिनाको बिरामी बिदा बुझाएर आएका रहेछन् । बल्ल रहस्य बुझिन् श्रीमतीले किरण अफिस नगएको । किरणका वितृष्णाका लहर देखेर उनलाई पनि नोकरी छोडेको उचितै लाग्यो ।
घरपरिवारबाट टाढा रहनुपर्ने, चाडबाड भन्न नपाउने अनि चोरलाई चौतारो भएको देशको यस्तो नोकरीबाट आखिर किरणले बिदा नै लियो आफ्नो स्वाभिमान र आत्मसम्मानका लागि ।