"ओम भुर्भुर्वस्व,तत्स वितुर्वरण्य म, भर्गो देवस्थ धिमही, धियो योन प्रचोदयात" मेरो मोबाइलको घण्टी बज्यो ।
पूर्व कालमा स्त्री जाति र अछुत जातिले सस्वर उच्चारण गर्नु त परै जावस् सुन्दा पनि अपराध हुने ऋग वेदको यही गायत्री मन्त्र समयको परिवर्तनसँगै अन्ध परम्पराको घाँटी च्वाट्टै छिनालेर श्रुति मधुर स्वरकि धनी अनुराधा पौडवालले गायकी हुनाले यो संगीतको धुन मलाई असाध्य मन पर्छ । यही धुन मेरो मोबाइलको कलिङ्ग टोनमा राखेकी छु । बेलुकीको खानाको लागि तरकारी केलाउँदै थिएँ मेरो मोबाइलको घण्टी बजे पनि हतपत रिसिभ गर्न सकिन र धुन बज्न छोड्यो ।केही बेर पछि त्यही धुन फेरि बज्यो मैले मोबाइल उठाएँ र नम्बर हेरें लोकल थियो तर सेभ नगरिएको हुनाले अल्मलिदै हेल्लो भनें उता इडा रै'छे ।
मैले सोधेँ,"ओई इडा तँ पो ! कहिले आइस् नेपालमा ?"
उसले लामो स्वास तानेर भनी,"ब-- स् स् स आउँदैछु । होटेलमा आई पुगेर कोठामा पनि नपुग्दै काउन्टरबाटै तँलाई फोन गरेकी मोरी ! के छ तेरो हालखबर ?"
"अरे मेरो हालखबरलाई मार गोली, तँ मेरो घरमा सरासर नआएर होटेलमा किन गइस हँ बेबकुफ ! होटेल सोटेल छोड्दे खुरुक्क न लाएर मेरो घर आईज । कुन होटेलमा बसेकी छेस् भन् बरु म मेरो बुढोलाई लिन पठाउँछु । कुन ठाउँमा कुन होटेल हो भन् त !अनि त्यस पछि हुन्छ कुरा तँसँग ।" मैले इडालाई बेस्मारी झपारेँ ।
उसले उत्तर दिई,"अरे मोरी अहिले छोड्दे ती कुरा, हामी दुई जना आमा छोरा आएका छौं। तँलाई अप्ठ्यारो नपारुँ भनेर हामीले अस्ट्रेलियादेखि नै होटेल बुक गरेका थियौं के ।"
"ए अक्कले पनि आएको छ? त्यो त लम्बु भइसक्यो होला हगि? किन नहोस् बाइस तेइस वर्ष त भइसक्यो ।"
"अक्कले नभन् मोरी अब त्यसको नाम अलेक्स हो, अलेक्स लार्सन ।"
अक्कले अक्कलबहादुर सार्कीबाट अलेक्स लार्सन भएछ, इडा लार्सनको छोरा । मैले आफूलाई जति सुकै सभ्य शिक्षित र आधुनिक भने पनि म बाहुनकी छोरी बुहारीलाई अक्कले पनिसँगै आएको छ भनेपछि मुखले कर गरे जस्तो गरे पनि मनले घरमा नआइदिए हुन्थ्यो भन्ने लाग्यो र अरु कर गरिन । भोलि बिहान होटलमै भेट्न आउने वाचा गरेर फोन राखी दिएँ । इडाले तेइस वर्ष अघि अक्कलेलाई आफ्नो धर्म पुत्र बनाएर अस्ट्रेलिया सिड्नी लैजाँदा मेरो लोग्ने शंकर र म पनि साक्षी बसेका थियौं ।
साँच्चै भन्ने हो भने इडा नदीपुर पोखरामा मसँगै हुर्केकी र मेरै कक्षा सहपाठी हो । त्रिचालिस वर्ष अघि इडाको बाबु डगलस पेड भोलुन्टिएर सोसल वर्करको रुपमा पोखरा आउँदा इडा पाँच वर्ष कि थिई, म जस्तै । मेरै घरको पारि पट्टि मेरो अङ्कलको घरमा तल्लो फ्ल्याट पुरै भाडामा लिएर बसेको थियो । त्यो घरको वरिपरि ठुलै चउर थियो र त्यही चउरमा हामी विभिन्न बालसुलभ खेलहरू खेल्थ्यौं । इडा पनि हामीसँगै खेल्न आउँथी । हामीसँग खेल्दा खेल्दै इडाले पनि नेपाली बोल्न जानेकी थिई । झनै त्यसमाथि हाम्रै बोर्डिंग स्कुलमा हाम्रै कक्षामा भर्ना गराइएकी थिई । दशैं तिहार चाड पर्वमा हामीसँगै टीका लगाउँथी । तिहारमा मेरो भाइलाई पनि टीका लगाउने गर्थी । यसरी पाँच वर्ष हामीसँगै बिताएर आफ्नो बाबुआमासँगै आफ्नो देश डेनमार्क फर्केकी थिइन् । जाने बेलामा मेरो घरको फोन नम्बर पनि टिपेर लगेकी थिई र मलाई बेला बखत फोन गरिरहन्थी ।
जसरी म बालिकाबाट तरुनी भएँ त्यसै गरी नारी स्वतन्त्रताको देशमा इडा पनि तरुनी भई र कम्प्युटर इन्जीनियरिंग गरेर अस्ट्रेलिया सिड्नीमा पुगेर काम गर्न थालिछे र त्यहीं अमेरिकन नागरिक फिलिप्स म्याकल्गनसँग प्रेम विवाह पनि गरिछे । यता मैले आइए पढ्दा पढ्दै माध्यमिक तहको मास्टरसँग बिहे गर्न बाध्य भएपछि स्नातक तह पनि उतिर्ण गर्न सकिन । दुई छोरीकी आमा भएर बसिरहेकै बेला फिलिप्सलाई लिएर पोखरा घुम्न आएकी इडा मेरै घर बसेकी थिई । उसको छोरा छोरी भइसकेको थिएन । गाईको मासु खान रुचाउने ती गैर हिन्दू इशाईहरूलाई मैले दश दिन जति आफ्नै घरमा राखेँ र खाना खान पनि भान्छा भित्रै हुलें । तर अक्कले सधर्मीय हिन्दू हो, अहिले अलेक्स भएर आएको छ तापनि मेरो घरमा हुल्न मलाई दिगमिग लागेर आयो । खोई किन हो म आफैलाई थाहा छैन । सायद त्यो मेरो परम्परागत संस्कारले गर्दा हुनु पर्छ । इडाको भाले-पोथी मेरो घरमा दश दिन बस्दा मेरो समाजले पनि मलाई केही भनेन बरु मेरो परिवारको इज्जत र सान बढेको थियो । उनीहरूको दश दिने बसाईमा पोखरा वरिपरिका दर्शनीय स्थलहरू अबलोकन गर्न जान्थे र हामीलाई पनि जान कर गर्थे । तर हामी विभिन्न बाहना बनाएर सबै ठाउँहरूमा जाँदैनथ्यौं, र भ्याउँदैनथ्यौं पनि । तर महेन्द्र गुफाको अबलोकन भ्रमणमा भने हामीले नगई सुखै पाएनौं । त्यति बेला इडालेभन्दा फिलिप्सले बढी नै कर गरेको थियो । जेठको महिना भए पनि रातभर पानी परेकोले मौसम शीतलो थियो । हामी खानपिन गरेर महेन्द्र गुफा हेर्न गएका थियौं ।
गुफा हेरेर फर्कने क्रममा फिलिप्सले भन्यो,"मैले त यो गुफा पनि अस्ट्रेलियाको जोनालेन गुफा जस्तै होला भन्ने सोंचेको, त्यस्तो पाइन ।"
"कस्तो छ जोनालेन गुफा हामी पनि सुनौं न । बरु इडा तिमी नेपालीमा भन त, म त्यति सारो अंग्रेजी बुझ्दिन।" मेरो लोग्ने शंकरले उत्सुकता देखायो ।
इडाले भन्न सुरु गरी,"जोनालेन गुफा सिड्नीको उत्तर पूर्वमा रहेको एघार वटा अति सुन्दर गुफा हो । जुन करिब एक लाख पैतीस हजार वर्षअघि समुद्रले बनाएको थियो । ती गुफाहरू भित्र विभिन्न आकृतिका हिरा मोती जवाहरात जस्तो लाग्ने क्रिष्टल ढुङ्गाहरू जसलाई स्टाल्याक्टाइटस भनिन्छ । यस्ता थुप्रै प्राकृतिक कलाकृतिहरूले युरेनियमको बिध्दुतीय उज्यालो आकर्षक व्यवस्थापन पाएर मनै लोभ्याउँछ । महेन्द्र गुफामा पनि यस्तै व्यवस्थापन गर्न सके जोनालेन गुफाभन्दा आकर्षक देखिने सम्भावना मैले देखेको छु ।"
उसले छोटकरीमा कुरा टुंग्याई र फिलिप्सलाई इङ्गित गर्दै अंग्रेजीमा भनी,"फिलिप्स तिमी कस्तो नराम्रो मान्छे ! समुद्रले छोडेको गुफा र नदीले छोडेको गुफा पनि कहीं यौटै हुन्छ ? के नेपालको जस्तै सुन्दर हिम सृङ्खलाहरू, यहाँको जस्तै पहाड झरना नदी नालाहरू तिम्रो अमेरिकामा वा अस्ट्रेलियामा देख्न सकिन्छ ? प्राकृतिक छटाहरूको एक आपसमा कुनै तुलना गर्न मिल्दैन, फिलिप्स ! अमेरिका र अस्ट्रेलियाको प्राकृतिक शौन्दर्यमा कृतिमता पनि मिसिएको हुनसक्छ तर नेपालमा बिशुध्दता बाहेक कृतिमता पाउन असम्भव छ, बुझ्यौ ?"
"मेरो आशय," स्पष्टीकरणमा फिलिप्सले केही बोल्न खोजेका थियो तर ट्याक्सीको इमर्जेन्सी ब्रेकले उसको बोलीमा पनि ब्रेक लाग्यो ।
हामी नदीपुरको सुकुम्बासी वस्तीनेर आईपुगेका थियौं । त्यो वस्ती मेरो माइती घरबाट नजिकै पर्छ । त्यही सुकुम्बासी वस्तीनेर आई पुग्दा अन्दाजी दुई वर्षको बच्चालाई बचाउन इमर्जेन्सी ब्रेक लगाईएको रहेछ । पुक्क पुक्क गाला रातो रातो वर्णको त्यो बच्चाले भोटो मात्र लगाएको, हेर्दा राम्रो थियो । बच्चालाई देखेर इडा ट्याक्सीबाट ओर्ली र बच्चालाई काखमा लिई । उसले चारैतिर हेरी अनि सोधी,"यो बच्चाको बाबु आमा को हो ?"
बच्चाको बाबु आमा त आएनन्, तर रामितेहरूको भीड लाग्यो । ट्राफिक जाम भएर गाडीहरूले जाने बाटो नपाएर ट्यांट्यां र टुंटुं हर्न बज्न थाल्यो । केही बेर पछि एउटी नौ दश वर्षकी बालिका आई र भनी,"यो त मेरो भाइ अक्कले हो ।"
"अनि तिम्रा बा आमा खोई त नानी ?" इडाले त्यो बालिकालाई सोधी ।
"बा जुत्ता सिउन भैरब टोलको चोकमा बस्नुहुन्छ, आमा भैरे साहुको घर भाँडा माझ्न," बालिकाले उत्तर दिई ।
इडा र त्यो बालिकाको कुरा गराईको छाँट लामो हुने देखेर हामी पनि ट्याक्सीबाट ओर्लियौं र ट्याक्सीलाई साइड लगाएर पर्खने सङ्केत गर्यौं । इडाको चालामाला देखेर अचम्भित मैले भनें,"ओई इडा तैंले यो के गर्न खोज्दै छेस् । जाउँ हिंड झमक्कै साँझ पर्न लागि सक्यो । छोरीहरू आत्तिन्छन जाऊँ हिंड ।"
"म यो बच्चालाई सिड्नी लिएर जान्छु, धर्म पुत्र बनाएर," इडाले अचानक आफ्नो निर्णय सुनाई ।
म एकै छिन त ट्वाँ परेर हेरिरहेँ । उनको कुरा सुनेर मेरो लोग्नेले भन्नुभयो,"ओ इडा ! यस विषयमा पहिला हामी घर पुगेर छलफल गरौँ । तिम्रो लोग्नेको इच्छा पनि बुझौँ अनि कुरा मिल्यो भने बच्चाको बा -आमासँग भोलि आएर कुरा गरौंला नि हुन्न ?"
इडाले भनी,"हुन त हुन्छ भेना, तर म आजै यो बच्चाको बा-आमालाई भेटेर कुरा गर्न चाहन्छु ।"
मेरो लोग्नेले बालिकातर्फ उन्मुख हुँदै सोध्नुभयो,"नानी तिम्रो नाम के हो ?"
बालिकाले लामो लेघ्रो तानेर उत्तर दिई," उsssषाsss । मेरो नाम उषा हो तर बा-आमाले भुन्टी भनेर बोलाउनुहुन्छ" ।
"अनि तिम्रो बा 'को नाम के हो नि ?"
"बा'को नाम सुईरे माइला," उसले तुरुन्तै जवाफ दिई ।
सुइरे माइला भन्ने बितिक्कै मलाई मेरो माइतको हली याद आयो । र मैले मेरो लोग्नेलाई भनें," ए बुढा ! यो सुइरे माइला त मेरै माइत हली बसेको थियो । अहिले हली काम छोडेर जुत्ता मर्मत गर्न थालेछ ।"
मैले यति के भन्दै थिएँ, भुन्टीले "ऊ आमा आउनुभयो," भनी ।
भुन्टीकी आमा हप्तौं ननुहाएको जस्तो जिङ्ग्रिङ्ग कपाल, मैलो धोती चोलो लगाएकी अन्दाजी तीस बत्तीस वर्षकि देखिन्थी र काखमा अन्दाजी चार पाँच महिनाको शिशु छोरो लिएकी थिई । भुन्टीकी आमा आएको देखेपछि ट्याक्सी चालकले भन्यो," मलाई पांच सय रुपिया वेटिंग चार्ज दिने भए बस्छु होइन भने मलाई जान दिनुस् ।"
मौकाको फाइदा उठाउन खोज्यो चालकले । इडा केही नबोली भुन्टीकी आमातिर उन्मुख भई र भनी,"दिदी यो तिम्रो बच्चा हो ? हेर त झन्डै ट्याक्सीले किचेको ।"
भुन्टीकी आमाले इडाको कुराको कुनै वास्तै नगरी भुन्टीको ढाडमा एक मुड्की जमाई र काखको बच्चा भुन्टीलाई थमाई । त्यसपछि इडाको काखबाट अक्कलेलाई खोसे झैं गरी लिई र छोरीलाई घचेट्दै आफ्नो घर गई । घर के थियो र ? फुसको झुप्रो बाटोदेखि अलि मुन्तिर थियो । त्यो झुप्रोमा अरु दुई बालिकाहरू पनि टुक्रुक्क बसिरहेका देखिन्थे । अन्दाजी चारदेखि सात वर्षका देखिने ती बालिकाहरू सायद भुन्टीकी बहिनीहरू थिए ।
झन्डै तीस बत्तीस वर्षकै उमेरमा पाँच सन्तानकी आमा बनेकी थिई अक्कलेकी आमा । अक्कलेकी आमाको मूड हेर्दा त्यहाँ कुनै कुरा गर्नुको प्रयोजन नदेखेपछि इडाले भनी,"जाऊँ शिबिका ! भोलि बिहानै अक्कलेको बाउसँग भेटेर कुरा गर्नु पर्ला ।"
इडाको त्यो भनाईले हामी सबैलाई राहत मिल्यो र हामी घर फर्क्यौं । घर फर्कदा साँझ छिप्पिएर रात पर्न लागिसकेको थियो । घर आएर लुगा फेरफार गरेपछि छोरीहरूलाई टिभीमा कार्टुन लगाई दिएर इडा र म सिधै भान्सा कोठामा छिर्यौँ । मेरो लोग्ने र फिलिप्स बार्दलीमा बसेर सोम रस पिउने जमर्कोमा लागिसकेका थिए । उनीहरूको लागि स्न्याक्स इडाको हात पठाइदिएँ । इडा त्यो दिएर तुरुन्तै भान्सामा आई पुगी । ऊ फर्कने बितिक्कै मैले भनें," ओई मोरी ! पराई बच्चालाई धर्म पुत्र बनाउने जस्तो संबेदनशील विषयमा लोग्नेसँग स्वीकृति लिनु पर्दैन ?"
इडाले भनी,"तँ लाटी सोझी छेस् । हेर हाम्रो समाजमा लोग्ने भनेको वेड पार्टनरभन्दा अरु केही होइन । दुवैको सहमति बेगर यौनसम्बन्ध गर्न खोज्नु अपराध मानिछ । आ-आफ्नो कमाई आ-आफ्नै खुशी हुन्छ, स्वतन्त्र हुन्छ । लोग्नेले स्वास्नी र स्वास्नीले लोग्ने पाल्नु पर्छ भन्ने कुनै बाध्यता छैन । धर्मपुत्र पाल्ने विषयमा पनि कुरा यस्तै हो । मलाई धर्मपुत्र पाल्न मन लाग्यो त्यो मेरो खुशी हो । यसमा मेरो लोग्नेको स्वीकृति र अस्वीकृतिले कुनै अर्थ राख्दैन । तर फिलिप्स सोझो र इमान्दार छ, म ऊसित अवश्य सल्लाह गर्नेछु ।"
पूर्वीय संस्कृतिमाभन्दा पश्चिमा संस्कृतिमा नारी स्वतन्त्रता र अधिकार धेरै फरक रहेछ, आकास जमिनको फरक । इडाको कुराले मेरो लोग्ने शंकरको म माथिको व्यभिचार स्मरण गरायो । रक्सी धोकेर आउने माध्यमिक स्कुलको मास्टर मेरो लोग्नेको इच्छामा मैले नचाहेरै पनि धेरै पटक बिच्छिएकी छु । तर शहर बजारको सभ्य सुसंस्कृत नारी भएर पनि मेरो लोग्नेको त्यो अत्याचारको मैले कहिले पनि प्रतिकार गर्न सकिन । लोग्नेको अत्याचारको प्रतिकार गर्नु भनेको हाम्रो समाज र संस्कार बिपरित हुनु हो, कुलटाको बिल्ला भिराई माग्नु हो । यसरी स्वास्नी मान्छेहरूले सही दिएका छन् र हाम्रो संस्कृति र संस्कार जोगिएको छ, मुर्दा शान्ति छाएको छ, भन्ने लाग्यो ।
"शिबिका, तँ किन घोरिएकी?" इडाको यो खाप्कीले मेरो एकाग्रतालाई भङ्ग गरिदियो । म पूर्व स्मृतिबाट बर्तमानमानमा ओर्लिएँ ।
इडाले फेरि भनी,"म अक्कलेलाई धर्म पुत्र बनाएरै छोड्छु, यो मेरो दृढ संकल्प हो । खाँटी कुरा त के हो भने हेर शिबिका ! मेरो यस पालिको पोखरा भ्रमण धर्म पुत्र वा पुत्रीकै खोजीमा हो । हाम्रो समाजमा त्यस्तो बच्चा पाउन मुस्किल मात्र होइन असम्भव हुन्छ ।"
"तैंले आफै जन्माउन सक्दैन थिइस्?"
मेरो प्रश्नको जवाफमा इडाले भनेकी थिई,"बजारमा जस्तो खोज्यो उस्तै दूध किन्न पाइन्छ भने आफैले गाई भैंसी पाल्नु किन पर्यो । बच्चा जन्माएर मेरो शरीर बिगार्ने मलाई इच्छा छैन । भोलि बिहानै अक्कलेको बाउलाई भेट्न जाऊँ है ।"
मैले पनि इडालाई जिस्क्याएँ,"मोरी ! सेक्स ट्वाइजहरू जस्तो भन्यो उस्तै किन्न पाइन्छ नि बजारमा । फिलिप्ससँग नारिएर किन हिंड्नु परेको नि ?"
इडाले हाँस्दै उत्तर दिई,"छिल्लिएकी मोरी ! त्यो पनि आ-आफ्नो रोजाई हो ।"
भोलिपल्ट बिहान छ बजे नै म र इडा अक्कलेको बा-आमालाई भेट्न गयौं । मेरो घर बैदामबाट नदीपुर पुग्न ट्याक्सीमा १५-२० मिनेट लाग्छ । हामी अक्कलेको घर पुग्दा अक्कलेको बाउ सुइरे माइला पिंढीमा बसेर चिया पिउँदै थियो । हामीलाई देखेर उसले भन्यो,"नमस्ते शिबिका नानी ! अनि उहाँ को हुनुहुन्छ कुन्नि ?"
मैले उनीहरूको परिचय दिँदै भनें,"ऊ मेरो साथी, इडा, मान्छे त डेनमार्कको हो तर अहिले अस्ट्रेलिया, सिड्नी बस्छे । पोखरा घुम्न र मलाई भेट्न आएकी ।"
कपाल कन्याउँदै सुइरे माइलाले सोध्यो,"अनि कति कामले कहाँ जान आउनु भो कुन्नि ?"
"हामी तपाईहरूलाई नै भेट्न आएका । अनि सन्चै हुनुहुन्छ माइला दाइ ? के छन् तपाईका हालखबर ? धेरै दिन पछि भेट भो हगि माइला दाइ ?"
सुइरे माइलाले जवाफ फर्कायो," के हुनु र नानी ! यी यस्तै हो हालको हालै छ, खबरको खबरै छ । अनि मलाई कति काम परेर भेट्न आउनु भो कुन्नि ?"
मैले भूमिका बाँधेँ," अँ दाइ ! यो स्वार्थले भरिएको समाजमा कुनै स्वार्थ नभई को कसको घरमा आउने जाने गर्छ र ? हामी पनि तपाईको घर केही माग्न आएका हौँ, दिनुहुन्छ ?"
मैले यसो भनिरहँदा अक्कलेकी आमा पनि आएर ढोकाको छेल पारेर कुरा सुन्न थालेकी थिइन् । अक्कलेको बाउले कपाल कन्याउँदै भन्यो,"हजुरकै बा-आमाको जुठो पुरामा हुर्केको म गरिबको घर के नै छ र, शिबिका नानी ! के दिऊँ ?"
मैले प्रसंगलाई मोड्न खोज्दै भनें,"माइला दाइ ! यो महङ्गिको जमाना पनि यति धेरै सन्तान जन्माउने ! हेर त भाउजू दुब्लाएर कस्तो हालत भई सक्यो । माया लाग्दैन भाउजूको ?"
"माया त लाग्छ नि तर के गर्ने भगवानले दिए पछि नाईं भन्न सकिएन, हात थापेर स्वीकार गर्ने पर्यो । अनि हजुरको छोरा छोरी कति भए मैले त सोध्नै बिर्से छु ।"
मैले भनें," मेरो त दुई वटी छोरी भएपछि परिवार नियोजन गरेँ । सन्तान जन्माएर मात्र कहाँ सुख छ र दाइ ! जन्माएपछि जुग जमाना अनुसार खान लाउन र शिक्षा दिनै पर्यो । ल अब तपाईं पनि परिवार नियोजन गरी हाल्नुस् ।"
मेरो कुरा सुनेर उसले हाँस्दै भन्यो,"नानीले के माग्दै हुनु हुन्थ्यो, कुरा बटार्नु भो ।"
कुरोको कुलो ठिक ठिक ठाउँमा बग्न थाले छ । मैले अब धेरै भूमिका बाँधी राख्न उचित पनि देखिन र उभिदा उभिदा खुट्टा पनि गलिसकेको हुनाले सोझै भनें,"माइला दाइ ! तपाईंको छोराको ठाउँमा छोरा छँदै छ, अक्कले भदा हामीलाई दिनुस्, हामी अस्ट्रेलिया लगेर पढाउँछौं, पाल्छौं । पछि दाइ भाउजूलाई पनि पाल्ने हुन्छ । यो अक्कलेले गर्दा तपाईंहरू सबै भाग्यमानी हुन लाग्नुभयो ।"
मेरो यो प्रस्ताव माइलाको लागि अनायास होला भन्ने मलाई लागेको थियो तर प्रतिक्रिया त्यसो भएन । माइलाले भन्यो,"शिबिका नानीले यस्तै भन्नुहुन्छ भन्ने पैले नै लख काटिसकेको थिएँ । हिजोको घटना सबै अक्कलेकी आमाले भनिसकेकी थिई । आज बिहान सबेरै यो नानीलाई लिएर आउनु भो । हुन त आफ्नो कोखीको घाऊ हो सन्तान कसलाई बढी हुन्छ र तैपनि अक्कले र अक्कलेको भाइ र दिदीहरूको साथै हाम्रो पनि भबिष्य यी नानीको हातमा उज्वल हुन्छ भने लैजानुस तर मेरो एउटा सर्त छ ।"
माइला दाइको बोली भूँईमा खस्न नभ्याउदै अहिलेसम्म हाम्रो वार्तालाप चुपचाप सुनिरहेकी इडाले आफ्नो कौतुहलता तेर्स्याई,"कस्तो सर्त दाइ ?"
"कस्तो सर्त भने नानी मैले पनि यी चार जनालाई पाल्न पढाउन पर्यो, हजुरहरूको लागि एक लाख रुपिया केही पनि होइन । तर मेरो लागि काम गरेर खाने खेलो हुन्छ । त्यसैले मलाई अहिले एक लाख रुपिया दिनु पर्छ ।"
अक्कलेको बाउको सर्त सुनेर इडाले मेरो मेरो मुखमा पुलुक्क हेरी र आँखाको ईशाराले मलाई सोधी । केही बेर आँखै आँखाको भाषामा हाम्रो संवाद चलिरह्यो र अन्तमा इडाले स्वीकृति सूचक टाउको हल्लाउँदै भनी,"हुन्छ माइला दाइ हामी आज तपाईंलाई एक लाख त दिन्छौं नै । त्यस अलावा सिड्नी पुगेर पनि बेला बखत पैसा पठाई दिने छौं । तपाई आज भाउजू केटाकेटीलाई लिएर सी डी ओ कार्यालयमा आउनुस है !"
यसरी बाइस वर्ष र बयालीस वर्ष बिगतको घटना स्मरण गराई दियो मलाई इडाको फोनले । जाने बेलामा मेरो हातमा रु पाँचसयको एक बिटो मेरो हातमा राखी दिन खोज्दै थिई मैले ठाडै इन्कार गरी दिएकी थिएँ । अहिले मेरा छोरीहरू बिहे भएर एउटा बेल्जियम र अर्को अमेरिका पुगेकी छे । रोजगारीको लागि विदेशिने लर्कोले चराको गुँड जस्तै भएको छ, नेपाली समाज, बुढा-बुढीको देश भएको छ हाम्रो समाज, चरा-चरीको जिन्दगी र मान्छेको जिन्दगीमा केही फरक देखिन छोड्यो । इडाले अक्कलेलाई लिएर अस्ट्रेलिया पुगेर पनि धेरै पटक मलाई फोन गरेकी थिई । अक्कलेका बाउ-आमालाई पनि दुई तीन महिनाको फरकमा मेरै हस्ते चालीस पचास हजारको दरले पैसा पठाई दिइरहन्थी आज अक्कलेलाई लिएर आइछे ।
अब अक्कले अछुत होइन सभ्य शिक्षित अंग्रेज भई सक्यो । यसरी बाइस-तेइसदेखि बयालीस वर्ष बिगतमा म भौंतारिरहेकै बेला मेरो लोग्ने शंकर आइपुग्यो । मेरो लोग्ने बिहान भात खाएर निस्केपछि एकै चोटी बेलुका आउने हो । मलाई दिनभरि समय काट्न मुश्किल हुन्छ ।
यस्तै यस्तै तरंग मनमा चलिरहेको बेला मेरो लोग्नेको स्वर सुनियो,"ओइ भात पाकेको छैन?"
म आफ्नो कोठामा गएँ । रक्सीको गन्ध मेरो नाकमा ह्वास्स पस्यो, म रन्थनिएँ । कुन बेला लोग्ने आइपुग्छ र इडा पोखरा आइपुगेको खबर भनुँला भनेर हतारिएकी म हिमालै हिमाल, हिउँ नै हिउँको देशमा म पनि हिउँझैं जमेर बस्न बाध्य भएकी थिएँ । रातको झन्डै दश बज्नै लागेको थियो । मेरो लोग्नेलाई चुपचाप खाना पस्केर ल्याइदिएँ । उसले चुपचाप खायो, म नबोली बसें ।
जब उसले खाना खाएर सक्यो त्यसपछि मैले डराई डराई भनें,"ए बुढा ! इडा आएकी छे । आमा-छोरा आएकी रे ।"
मेरो बुढाले संक्षिप्त उत्तर दियो,"खोइ त यहाँ त देख्दिन ।"
"बाराही होटेलमा बसेका छन् रे । आउने बितिक्कै मलाई फोन गरेकी थिई । भोलि बिहानै जाउँ है भेट्न ।"
"भेट्न होइन लिन जाने,'' मेरो बुढाले कर्कश स्वरमा भन्यो ।
"आमै नि अछुतलाई घर भित्र हुल्ने, दुनियाँले देखे के भन्लान् ?" मैले सुस्तरी भनें ।
"तिम्रो शिक्षा र बुद्धिलाई के भएको छ, शिबिका ! गैर धर्मी क्रिश्चिएनलाई भान्साभित्र हुल्दा तिमीलाई केही भएन । तर सहधर्मी हिन्दूलाई घरमा हुल्न तिमीलाई गाह्रो भो ? तिमी कुन युगमा बाँचेकी छ्यौ थाहा छ ? दुई चार अक्षर पढे-लेखेको तिमी शहरियाहरूको त यो चाल छ झन् गाउँ ठाउँमा कस्तो होला, तिमी आफै बिचार गर त । सभ्य शिक्षित मान्छेहरू जो सुकै होउन् सबै मेरो घरभित्र आउन सक्छन् तर असभ्य फोहोरी जो सुकै होउन्, तिनीहरूको लागि मेरो घर भित्र प्रवेश निषेध छ । सबैभन्दा ठुलो र बिकराल समस्या भनेको भोक हो त्यस पछि अन्य आवश्यकता हो । भोकले धर्म भन्दैन यही भोकलाई हतियार बनाएर क्रिश्चियनहरू साम्राज्यवादी युद्ध लडेर विश्व सम्राट बन्ने प्रयास गरिरहेका छन् र धेरै जसो सफल पनि बनिरहेका छन् । हिन्दूहरू निदाइरहेका छन् । चार्वाकको सिध्दान्त अनुसार जो निदाउँछ उसको भाग्य पनि उसँगै निदाउँछ । छुवा -छुतको बिशाल पर्खाल खडा गर्ने हिन्दू भित्र ठुलो पहिरो गैरहेको कुरा निदाउनेहरूलाई के थाहा !"
मेरो बुढा शंकरको कुरा रोकेर मैले बीचैमा भनें,"रक्सी नपिइदिने हो भने त तपाई भगवानै हुनुहुन्छ ।"
"मलाई एउटा असल मान्छे बन्न पाए पुग्छ । मलाई पर्या छैन भगवान हुन किनभने भगवानको मुटु नै हुदैन," शंकरले हाँस्दै भन्यो ।
म पनि शंकर हाँसेको देखेर दङ्ग परें ।
भोलिपल्ट बिहान सात बजे हामी बुढा-बुढी इडा र अलेक्स उर्फ अक्कलेलाई भेट्न गयौं । उनीहरू बसेको होटेल बाराही हाम्रो घरबाट मुश्किलले दश मिनेटको दुरीमा भएकोले प्रात भ्रमण पनि हुने देखेर हिंडेरै गएका थियौं । प्रात कालीन अबोध घामको किरणले माछापुच्छ्रे हिमशृङ्खला सबै सुनको देखिएको थियो । फेवातालको तिरैतिर हिंडिरहेको हुनाले बिहानको सिर्सिरे हावा र फेवातालमा सुनको माछापुच्छ्रे पौडिरहेको दृश्यले हामी दुवै भाले-पोथी पुलकित भइरहेका थियौं । हामी बाराही होटेल पुग्दा इडालाई हाम्रै प्रतीक्षा गरिरहेको पायौं । अलेक्स नुहाउनको लागि बाथरुम पसेको रहेछ । हामी पुगेको केही बेर पछि नै चिया पनि आई पुग्यो ।
चियाको चुस्की लगाएर मैले इडालाई सोधें," फिलिप्स खोइ त ?"
मेरो प्रश्नको जवाफ त्यसले तुरुन्तै दिइन । निधारमा सय पत्र गाँठो पारेर एक क्षण चुप लागेर बसी । केही बेरको मौनता पछि बिस्तारै भनी," फिलिप्स मर्यो । अलेक्सलाई लिएर सिड्नी पुगेको केही हप्तापछि त्यसले मसँग मलाई मेरो सन्तान चाहियो भनेर झगडा गर्न थाल्यो । अलेक्स नै हाम्रो साझा सन्तान हो मैले भन्ने गर्थें । तर त्यसले अलेक्सलाई आफ्नो सन्तान स्वीकार गर्न सकेन, मानेन । दिनैपिच्छे रक्सी पिएर मसँग झगडा गर्न थालेपछि मैले घरबाट निकाली दिएँ । रिसले भुन्भुनिदै त्यो मोरो पबमा गएछ र बेस्मारी रक्सी धोकेछ र गाडी चलाएर कहाँ जान लागेको थियो बिपरित दिशाबाट आइरहेको ट्रकमा ठोक्किएर घटनास्थलमै मरेछ । त्यसको लास र पोस्ट मार्टम रिपोर्ट एउटै बाकसमा प्याक गरेर त्यसको बाउ-आमा भएको देश अमेरिका पठाइदिएँ ।"
"यत्रो दिनसम्म पनि तेरो जीवनको यस्तो अह म घटना मलाई भनिनस् किन हँ इडा ? एककी जीवन कसरी बिताइस् त !" मैले अचम्म मान्दै भनें ।
"तँ लाटी सोझी छेस्," उसले उत्तर दिई । "तेरो पूर्वीय संस्कारले गर्दा यस्तो भएको हो । हाम्रो पश्चिमा संस्कारमा लोग्ने मरे पनि एकल जीवन बिताउँनै पर्छ भन्ने कुनै बाध्यता छैन । हाम्रो र तिमीहरूको संस्कारमा यही फरक छ, शिबिका ।"
इडाले यसो भनिरहंदा उसको अनुहारमा कुनै बिषाद्का धर्साहरू देखिएका थिएनन् । शंकरलाई त कस्तो महसुस भयो कुन्नि मलाई भने इडाको यो भनाई मन परेन ।
"नमस्ते अङ्कल, नमस्ते आन्टी !"
अक्कलेको आगमन र अभिवादनले हाम्रो ध्यान आकर्षित गर्यो । शंकर र म दङ्ग पर्यौं । चौबीस पच्चीस वर्षको लक्का जवान, अग्लो, गोरो, हृष्ट पुष्ट सेतो हरियो धर्के टिसर्ट र निलो जिन्स पाइन्टमा ठ्याक्कै गोरा झैं देखिएको थियो अक्कले । शीतले नुहाएको सेतो गुलाफको फूल जस्तो गोरो । अभिवादनपश्चात आमाको छेउमा बस्यो ।
अक्कलेको शालीन शिष्ट व्यवहारले शंकरलाई धेरै नै प्रभाव परेको भएरै होला सोधी हाल्यो अक्कलेलाई,"के छ बाबु ! तिम्रो हाल-खबर, कति पढ्यौ त ?"
अक्कलेले नेपाली भाषा नबुझेर ट्वाँ परेर शंकरलाई हेरिरह्यो ।
जवाफमा इडाले भनी,"भेना ! मैले यसलाई नेपाली सिकाएको छैन । तर नमस्ते गर्ने नेपाली शैली मलाई असाध्य मन पर्ने भएकोले आफूभन्दा ठुलालाई नमस्ते गर्न मात्र सिकाएको छु । अहिले यो मेकानिकल ईञ्जिनीयरिङ्ग सिध्याएर जुत्ता कारखानामा मेकानिकल ईञ्जिनीयरमा काम गर्दै छ । अब मेकानिकल ईञ्जिनियरिङ्गमा पी एच डी गर्छु भन्दैछ ।"
"मार्बलस, अति सुन्दर । अवसर पायो भने सीमान्तकृत वर्गका विद्यार्थीहरूले पनि उन्नतिको ढोका खोल्न समर्थ हुँदा रहेछन् भन्ने प्रमाणित भो । तर दुखको कुरा सीमान्तकृत विद्यार्थी कोटामा नेताहरूकै छोरा छोरी विदेश पढ्न जान्छन् र पो । र ती नेता भनाउँदाहरू बाहुन, क्षेत्रीनै बढी हुन्छन् । बाहुन क्षेत्रीले सदियौंदेखि सीमान्तकृत वर्गलाई दबाएर राखेकै हुनाले यो देशको विकास हुन नसकेको हो ।"
"तपाई पनि बाहुनै होइन र भेना ?" इडाले हाँस्दै सोधी ।
"हो म पनि बाहुनै हो । तर सबै बाहुन एक नासका हुँदैनन् । म जातभातको चक्करमा फँस्न चाहन्न । सबै बाहुन क्षेत्री एकै नासको हुने भएको भए क्षेत्री बाहुनहरूकै बर्चस्व रहेको माओवादी यही कुराको बिरोध गर्दै जङ्गल पस्दैनथ्यो । तर बिडम्बना तिनीहरू पनि- मै खाउँ मै लाउँ सकल मोज मै गरूँ- भन्नेमा नै लागेका रहेछन् भन्ने कुरा नेताहरूकै चालढालबाटै प्रष्ट हुँदैछ ।''
शङ्करले आफ्नो तितो पोख्यो ।
"तर जे होस् इडा ! तिमीले अक्कलेको परिवार प्रति ठुलो गुन लगाएकी छ्यौ । हुन त हरेक मान्छे लहरा युक्त बिरुवा हुन् जसले सहारा खोज्छ,त्यो सहारालाई नेपालीमा थाँक्रो भनिछ अक्कलेको परिवारको लागि तिमी थाँक्रो बनेकी छ्यौ, तिमीलाई ट्रकका ट्रक धन्यवाद । अब हिंड जाउँ हाम्रो घर, तिमीले त्यस्तो केही अप्ठेरो मान्नु पर्दैन ।"
शङ्करको कुरा बीचैमा काटेर इडाले अनुरोध गरी,"प्लिज भेना अलेक्स भन्नुस् अब त्यो अक्कले होइन ।"
"सरी इडा ! अब अलेक्स नै भनुँला । अब तयार होऊ, हाम्रो घर जाऊँ । अक्कले सरि अलेक्सको बा-आमा र भाइलाई पनि उतै बोलाउँला । अँ साँच्चै, तिमीले अलेक्सलाई उसको वास्तविकता बतायौ त ?"
इडाले भनी,"भेना, तपाईंले सिनेमाको रिल झैं एकै चोटी धेरै कुरा भन्नु भो । अब मेरो कुरा सुन्नुस् पहिलो कुरा मानव समाजमा रिच्युअल चल्दो रहेछ । रिच्युअल मतलब ट्रेडिसनल ह्युमन बिइङ्ग अर्थात् पुर्ख्यौली संस्कार । मेरो बाउ पनि सामाजिक काममा दत्त चित्त भएर लाग्नु भो । म पनिसकेको मानव कल्याणमा लाग्न चाहन्छु । नेपालीप्रति मलाई धेरै नै मोह छ । किनभने मेरो बालापन यहीं बित्यो र मैले सबैबाट मायाँ पाएँ । नेपालीहरू अरु कुरामा गरिब भए पनि अपनत्वपन अर्थात् आत्मीयतामा धनी छ । यही नै मैले नेपालमा कमाएको सम्पति हो । मैले अलेक्सलाई यसको वास्तविकता केही बताएकी छैन । सायद अब त्यो समय आएको छ । एक साथ् थुप्रै सर्प्राइज । ठिक समयमा रहश्यको पर्दा खोल्नुको मज्जा नै भिन्दै हुन्छ, होइन र भेना?"